विशेष हारको मारमा पर्न लागेका राजनीतिका खेलाडीहरु
Ujyaalo

मंसिर २२ – मतगणनाको विवरण सार्वजनिक भैरहँदा केही चर्चित नेताहरु र राजनीतिको पुस्तैनी विरासत खतरामा पर्ने सम्भावना बढ्दै गएको छ । यसरी हारको मारमा पर्न लागेका चर्चित र राजनीतिक खेलका महारथीमा नेपाली कांगेसका नेताहरु परेका छन ।

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्माको जीत सुनिश्चित भैरहँदा उहाँका प्रतिष्पर्धी कांग्रेसका पुराना नेता गोपालजी जंग शाह पराजित हुने निश्चित जस्तै भएको छ । शाह अहिले झण्डै १३ हजार मतले पछि हुुनु्ुहुन्छ ।

यस्तै सिन्धुपाल्चोक क्षेत्र नं. १ मा वर्तमान सञ्चारमन्त्री एवं कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले हार्ने सम्भावना बढदै गएको छ । उहाँलाई पूर्व सञ्चारमन्त्री एवं वाम गठबन्धनका उम्मेदवार माओवादीका अग्निप्रसाद सापकोटाले फराकिलो मतले पछि पार्नुभएको छ । अहिले उहाँहरु बीच चार हजार मतको अन्तर परिसकेको छ ।

यस्तै ताप्लेजुङमा एमाले सचिव योगेशकुमार भट्टराईले मतान्तर बढाउँदै जाँदा कांग्रेसका पाका र स्थानीय तहमा स्थापित नेता केशवप्रसाद दाहाल पराजित हुने निश्चित हुदै गएको छ ।

सिन्धुपाल्चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका पशुपति शमशेर राणाको जित्ने सम्भावना अब कम हुँदै गएको छ । मतगणनाको शुरुवाती चरणमा एमालेका शेरबहादुर तामाङलाई पछि पारे पनि अहिले तामाङको मतान्तर बढ्दै गएको छ । पिता पुर्खा देखि राजनीति गर्दै आएका पञ्चायतकालदेखि नै राजनीतिका खेलाडी पशुपति शम्सेर राणाले यो पालि आफुभन्दा निकै कम उमेरका शेरबहादुरलाई जित्न अब निकै कठिन छ ।

लमजुङमा कांग्रेसका दिलबहादुर घर्तीले पनि जित्ने सम्भावना कम भएको छ । मतगणनाको शुरुवाती चरणमा देब गुरुङभन्दा धेरै अघि देखिएका घर्तीलाई माओवादीका देवप्रसाद गुरुङले फराकिलो मतले पछि पार्नुभएको छ । घर्ती गुरुङभन्दा साढे तीन हजार मतले पछि परिसक्नु भएको छ ।

सोलुखुम्बुमा सधै जित्दै आएका कांग्रेसका बलबहादुर केसीले पनि यो पालि जित्ने सम्भावना कम हुँदै गएको छ । उहाँलाई माओवादी केन्द्रका हेमकुमार राईले फराकिलो मतले पछि पार्नुभएको छ । अहिले केसी राई भन्दा चार हजार मतले पछि परिसक्नु भएको छ ।

पाँचथरमा कांग्रेसका भीष्मराज आङदेम्वे पनि अब पराजित हुने बाटोमा हुनुहुन्छ । उहाँलाई एमालेका वसन्तकुमार नेम्वाङले पछि पार्नुभएको छ । उहाहरुबीच मतको अन्तर अहिले बढेर २ हजार भन्दा बढिमा पुगेको छ ।

जाजरकोटमा कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहको पनि जित्ने सम्भावना कम छ । त्यहाँ माओवादीका शक्तिबहादुर बस्नेतले उहाँलाई फराकिलो मतान्तरले पछि पार्नुभएको छ । शाह र बस्नेतबीच चार हजार मतको अन्तर छ ।

नुवाकोटमा कांग्रेसका डा. रामशरण महत र अर्जुननरसिंह केसीको पनि जित्ने सम्भावना कम हुँदैछ । दुबै क्षेत्रमा अहिले उहाँहरु बाम गठबन्धनका उम्मेदवारलाई पछ्याउँदै हुनुहुन्छ । तर पछ्याउँदै जाँदा उहाँहरुबीचको मत अन्तर पनि फराकिलो हुँदैछ । 

Share It

Post Comments
थप विशेष