विशेष सिन्धुपाल्चोकमा पूर्व र बहालवाला संचारमन्त्री बीच कडा प्रतिस्पर्धा
Ujyaalo

लक्ष्मण शर्मा/उज्यालो ।

काठमाडौं, मंसिर २२ – सिन्धुपाल्चोक क्षेत्र नम्बर एकमा कडा चुनावी भिडन्त भएको छ । बहालवाला संचारमन्त्री मोहनबहादुर बस्नेत र पूर्व संचारमन्त्री अग्निप्रसाद सापकोटा एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रेपछि उम्मेदवार दर्ताको समय देखिनै यो निर्वाचन क्षेत्र र दुई संचारमन्त्रीको चर्चा चुलिएको थियो ।

संविधानसभा चुनावमा सिन्धुपाल्चोकबाटै प्रत्यक्ष निर्वाचित यी दुई हेभिवेट नेता नयाँ निर्वाचन क्षेत्र निर्धारण पछि बनेको सिन्धुपाल्चोक एकबाट नै लडन बाध्य भएका हुन् ।

स्थानीय मतदातामा लोकप्रिय रहेका माओवादी केन्द्रका नेता सापकोटा र नेपाली कांग्रेसका नेता बस्नेत पार्टीको नेतृत्व तहसम्म महत्व राख्ने नेताको रुपमा परिचित रहेका छन् ।

बिहीबार सम्पन्न चुनाव पछि भएको मतगणनामा यी दुई बहालवाला र पूर्व संचारमन्त्रीको धडकन बढेको छ । आफ्नो बिरासतका लागि जित्नै पर्ने दवावमा रहेका यी नेताहरु चुनावी प्रचारको क्रममा मतदाता माझ लोकप्रिय बन्नका लागि अनेक तरहबाट प्रचार गरेका थिए ।

तर नेकपा एमालेको साथ पाएका पूर्व संचारमन्त्री सापकोटाले यो निर्वाचन क्षेत्रमा बहालवाला संचारमन्त्री बस्नेतलाई अगाडि आउन दिएका छैनन् । पछिल्लो मतपरिणाम अनुसार माओवादीका नेता तथा पूर्व संचारमन्त्री सापकोटाको २० हजार ८ सय ८४ मत रहेको छ भने बहालवाला संचारमन्त्री बस्नेतको १६ हजार ७ सय ५५ मत रहेको छ ।

यो मतपरिणाम अनुसार बस्नेतले सापकोटालाई भेटनको लागि झण्डै ४ हजार मत ल्याउनु पर्ने देखिएको छ । हेरौं मतगणनाको अन्तिम समयसम्म यी दुई पूर्व र बहालवाला संचारमन्त्रीको चुनावी नतिजा कस्तो आउँछ ।

Share It

Post Comments
थप विशेष