विशेष पहिलो चरणमा कांग्रेसले १९ सिट दाबी गरेपछि वाम गठबन्धन भन्छ : तीन सिट पनि जित्दैन
Ujyaalo

काठमाडौं, मंसिर ७ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको मतदान आइतबार हुँदैछ भने दोस्रो चरणको मतदान १३ दिनपछि २१ गते हुँदैछ । पहिलो चरणको चुनावका लागि मौन अवधि राति १२ बजेदेखि सुरु हुँदैछ भने दोस्रो चरणको चुनावका लागि प्रचारप्रसार उत्कर्षमा पुगेको छ ।

मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु अन्तिम कसरतमा जुटिसकेका छन् । प्रचारप्रसार उत्कर्षमा पुगिरहँदा दलहरुले जित्ने सम्भावित क्षेत्रको सूचि पनि बनाउन थालेका छन् । एमाले र माओवादी केन्द्र वाम गठबन्धनको पक्षमा राम्रो परिणाम आउनेमा ढुक्क छन् । उता राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका दलसँग चुनावी सहकार्य गरेको नेपाली कांग्रेस पनि आफ्नो अवस्था कमजोर नरहने आत्मविश्वास व्यक्त गरिरहेको छ ।

पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यी क्षेत्रमा तुलनात्मक रुपमा लोकतान्त्रिक गठबन्धनले केही कमजोर नजिजा ल्याउने मूल्यांकन भए पनि बाँकी क्षेत्रमा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

पहिलो चरणमा चुनाव हुने ३७ मध्ये तीनवटा मात्र कांग्रेसले जित्ने र समग्रमा दुई तिहाइ बहमुत वाम गठबन्धनले ल्याउने दाबी एमाले नेता अग्नि खरेलको छ । खरेल भन्नुहुन्छ, ‘पहिलो चरणमा कांग्रेसले तीन सिट ल्याए राम्रै मान्नुपर्छ । एमाले र माओवादीबीच तल्लो तहदेखि नै एकताको सन्देश गएकाले लभगभग ३७ वटै सिट हामी जित्छौं ।’

औपचारिक रुपमा दुई तिहाइ ल्याउने वाम गठबन्धनको दाबी भए पनि आन्तरिक रुपमा भने सामान्य बहुमत पुर्‍याउनमै शक्ति खर्चिरहेका छन् । उता, देशभर उत्तिकै जनमत भएको कांग्रेस दुई ठूला पार्टी एमाले र माओवादीको तालमेलबाट केही हच्किए पनि समग्रमा आफ्नो पक्षमा परिणाम नराम्रो आउने बताइ रहेको छ ।

पहिलो चरणको चुनावमा साधरण बहुमत र समग्रमा स्पष्ट बहुमत ल्याउने कांग्रेस प्रचारप्रसार समितिका सदस्य मीन विश्वकर्माको दाबी छ । ‘पहिलो चरणमा सामान्य बहुमत र देशैभरबाट हामी स्पष्ट बहुमत ल्याउँछौं । वाम गठबन्धनले दाबी गरे जस्तो उनीहरुलाई नागरिकले पत्याउँदैनन् ।’ पहिलो चरणमा प्रतिनिधिसभाका लागि ३७ क्षेत्रमा चुनाव हुने हुँदा विश्वकर्माले भनेको साधारण बहुमत १९ मान्नुपर्नेहुन्छ ।

दुई ठूला गठबन्धन बाहेक दुई नम्बर प्रदेशमा पुगेपछि तामेल गरेका संघीय सजावादी फोरम र राजपाले पनि आफ्नो क्षेत्रमा राम्रो परिणाम ल्याउने बताइ रहेका छन् । अरु प्रदेशमा वाम र लोकतान्त्रिक गठबन्धनबीच द्धिपक्षीय प्रतिस्पर्धा भए पनि २ नम्बर प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेससँग तालमेल गरेका राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि उम्मेदवारीअनुसार राम्रो परिणाम ल्याउने अनुमान गरिरहेका छन् । दलहरुका यी अनुमान, दावी र हिसाबकिताक कत्तिको मेल खान्छ, त्यो त मतपेटिका खोलेपछि नै थाहा हुन्छ ।

Share It

Post Comments
थप विशेष