विशेष पाल्पाका सबै क्षेत्रमा वाम गठबन्धन अगाडि
Ujyaalo

देव पचभैया/उज्यालो ।

पाल्पा, मंसिर २२ –पछिल्लो मतपरिणाम अनुसार पाल्पामा पनि वाम गठबन्धनले सुरुवाती अग्रता कायम राखेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ प्रतिनिधिसभा सदस्य र चार वटै प्रदेशसभा सदस्यमा वाम गठबन्धन अगाडि रहेका छन् ।

क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले १५४७ मत प्राप्त गर्दा वाम गठबन्धनबाट उम्मेदवार एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानाले ३२९३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य (क ) मा कांग्रेसका देवराज ढकालले ८७१ र वाम गठबन्धनबाट एमाले उम्मेदवार युवराज खनालले १३०८ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर १ कै प्रदेशसभा सदस्य ( ख) मा वाम उम्मेदवार एमाले नेता नारायण आचार्यले ८३९ र नेपाली कांग्रेसका दानबहादुर पक्षाईले २९३ मत पाउनु भएको छ ।

सबैको चासोको रुपमा हेरिएको पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस भन्दा वाम गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमाले केन्द्रीय सदस्य एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे कांग्रेस उम्मेदवार पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद हरिप्रसाद नेपाल भन्दा १५०५ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार एमाले वरिष्ठ नेता माधव कुमार नेपालको सम्धी समेत रहनुभएका सोमप्रसाद पाण्डेले ६४९२ मत प्राप्त गर्दा कांग्रेसका हरि नेपालले ४३३५ मत पाउनुभएको छ ।

२०४८ सालदेखि पाण्डे क्षेत्र नम्बर २ बाट र नेपाल क्षेत्र नम्बर ३ बाट सांसद बन्दै आउनु भएको थियो । तर अहिले पाल्पा दुई निर्वाचन क्षेत्रमा सिमित भएकाले दुबै जना क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्यको (क) मा कांग्रेस उम्मेदवार माधव नेपालको १७३५ मत प्राप्त हुदा वाम गठबन्धनका एमाले उम्मेदवार पुरन बज्राचार्यले २५७३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ कै प्रदेशसभा सदस्यको (ख) मा नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर कार्कीले ३१५० मत प्राप्त गर्दा वाम गठबन्धनका माओवादी केन्द्रका नेता तुलाराम घर्ती (बसन्त) ले ४७३१ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पाल्पा दरबारमा ८ स्थानमा पाल्पाको मतगणना भैरहेको छ ।

 

Share It

Post Comments
थप विशेष