विशेष काठमाडौंमा दुई पटक हारेका योगेशको सांसद बन्ने सपना ताप्लेजुङमा पूरा
Ujyaalo

ताप्लेजुङ, मंसिर २३– २०६४ र २०७० सालको चुनावमा काठमाडौंबाट पराजित भएका एमाले सचिव योगेश भट्टराईको सांसद बन्ने सपना ताप्लेजुङबाट पूरा भएको छ । तेश्रो प्रयासमा उहाँ ताप्लेजुङबाट १२ हजार ५ सय ९१ मतान्तरले विजयी हुनु भयो । 

भट्टराईले २९ हजार ४ सय ७९ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका केशबप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ । जम्मा ५१ हजार ७ सय ४३ मत खसेको थियो । यसमध्ये २ हजार ३ सय ३३ मत बदर भएको छ । प्रतिनिधि सभाका ७ जना उम्मेदवारलाई पछिपार्नुभयो ।

युवा नेता योगेश भट्टराईको जन्मथलो ताप्लेजुङ नै हो ।

२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँगुमा भीमलाल भट्टराई र महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ ।

बाममन्थी पारिवारिक पृष्ठभूमी र झापा विद्रोहको प्रभावले राजनीतिमा प्रवेश गरेका भट्टराईको राजनीति एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुबाट सुरु भएको हो । २०३७ सालमा अनेरास्ववियुको विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटी रहेर काम गरेका भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभएको छ ।

अहिले उहाँ नेकपा एमालेको केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख पनि हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष