विशेष रामेछापका १४ संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था कडा, परिचयपत्र बोकेर हिँड्न आग्रह
Ujyaalo

रामेछाप, मंसिर ८ – मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तोकिएका मतदानस्थल मध्ये १४ वटा अति संवेदनशील  मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।


जिल्ला सुरक्षा समितिले विगत वर्षहरुमा भएको चुनावी माहोल र गएको जेठमा भएको स्थानीय तह चुनावको आधारमा जिल्लाका १४ मतदानस्थल अतिसंवेदनशील र २३ वटा मतदान स्थलहरु  संवेदनशील रहेको र त्यस क्षेत्रमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्न आवश्यक मात्रामा सुरक्षा टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले जानकारी दिनुभयो । 


आउँदो १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रामेछापमा १ सय ८१ वटा मतदानस्थल रहेका छन् । आउँदो चुनावमा रामेछापबाट १ लाख ५२ हजार ५ सय ५९ जना मतदाताले मतदाता रहेका छन् । जसमा महिला मतदाता ७६ हजार १ सय ३४ र पुरुष मतदाता ७६ हजार ४ सय २५ रहेको  छ । यी मतदाताहरुलाई सहज वातावरणमा मतदान गर्ने उद्देश्यले प्रदेश (क) तर्फ ९३ वटा मतदान स्थल र प्रदेशसभा (ख) तर्फ ९८ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।


रामेछापमा प्रतिनिधिसभाको १ सिटमा विभिन्न १२ राजनीतिक दलका १२ जना उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै प्रदेशसभा (क) तर्फ विभिन्न ८ वटा राजनितिक दलका ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै प्रदेशसभा (ख) तर्फ १ स्वतन्त्र सहित ८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।


यसरी १० गते हुन लागेको चुनावलाई सफल बनाउन रामेछापमा प्रयाप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने जनाइएको छ । चुनावलाई लक्षित गरि रामेछापका ठाउँठाउँमा नेपाली सेनाको टुकडी खडा गरिएको छ । त्यसै अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनावका लागि रामेछापमा १ हजार ५ सय २६ जना कर्मचारी खटिएका छन् । 


जिल्लाको ९० वटा मतदान स्थलमा १ सय ९१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा १ हजार १ सय ४६ जना सहायक मतदान कर्मचारीहरु परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

सबै मतदान केन्द्रमा पुग्यो मतपत्र र अन्य सामाग्री


१ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापका सबै मतदान केन्द्रहरुमा मतपत्र र सम्पूर्ण मतदानमा प्रयोग हुने सामाग्रीहरु बिहीबार बेलुका पुगेको छ । 


मुख्य निर्वाचन कार्यालय रामेछापले जिल्लाको सबैभन्दा टाढाको दुरीमा रहेका प्रदेशसभा (क) मा पर्ने उमाकुण्ड गाउँपालिका अन्र्गतका गुम्देल, चुचुरे, कुवुकास्थली, प्रिती, ठोसे, भुजी र प्रदेशसभा (ख) अन्तर्गत दोरम्वा गाउँपालिका र सुनापती गाउँपालिकाका गौश्वारा, लखनपुर, गुन्सी, टोकरपुर लगायतका मतदान केन्द्रहरुमा बुधबार नै मतपत्रसहितका कर्मचारीहरु पुगिसकेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।


त्यसैगरी सदरमुकाम नजिकका गाउँपालिकाहरु गोकुलगंगा, लिखु, खाँडादेवी गाउँपालिकाका मतदान केन्द्रहरु र रामेछाप नगरपालिका र मन्थली नगरपालिकाका मतदान केन्द्रहरुमा बिहीबार बेलुकासम्म सम्पूर्ण मतपत्र र मतपेटीका र अन्य आवश्यक सामाग्रीहरु समेत पुगिसकेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 


रक्सी बेच्न रोक


प्रशासनले चुनाव नसकिएसम्मको लागि सम्पूर्ण मदिरा जन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । निर्वाचनलाई लक्षित गरि प्रशासनले विभिन्न किसिमका उच्छृखंल गतिविधि हुनसक्ने भन्दै निर्वाचन अवधिभरको लागि मदिरा जन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन भन्दै सूचना जारि गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिनुभयो । 


उहाँका अनुसार यदि कोही कसैले प्रशासनले जारी गरेको सूचनालाई अवज्ञा गर्दै मदिरा जन्य पदार्थ बिक्री विरण गरेको पाइएमा कानून अनुसार हदैसम्मको कारवाही गरिने जानकारी दिनुभयो । 


शंकास्पद वस्तु भेटिए खबर गर्नुस – प्रहरी


चुनावलाई लक्षित गरि विभिन्न किमिसका अवान्छित गतिविधिहरु बढीरहेको भन्दै जिल्ला सुरक्षा समितिले कुनै शंकास्पद वस्तु फेला पारे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । 


जिल्ला सुरक्षा समितिले चुनावलाई लक्षित गरि अवरोध पुर्याउने किसिमले विरोधी गतिविधिमा संलग्न समूहले विस्फोटनका लागि घरायसी सामाग्रीहरु जर्गिन, पानीको वोतल, रेडवुलका बट्टा आदी प्रयोग गर्न सक्ने हुँदा सजग रहन त्यस्ता किसिमका सामाग्रीहरु कोही कसैले देखे वा फेला पारेमा स्थानिय प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय रामेछापमा खवर गरिदिन सबै नागरिकहरुलाई अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । 


चुनावअवधिभर परिचयपत्र बोक्नुस – प्रशासन

चुनावलाई लक्षित गरि विभिन्न अवान्छित गतिविधिहरु बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले जिल्लामा प्रवेश गर्ने सबै नागरिकहरुलाई आफ्नो साथमा परिचय खुल्ने कागजात बोक्न आग्रह गरेको छ । 


चुनावको मिति नजिकिँदै जाँदा जिल्लामा विभिन्न अपराधिक गतिविधिहरु बढ्न सक्ने भन्दै जिल्ला बाहिर जाँदा र जिल्ला भित्रदा आफ्नो परिचय पत्र खुल्ने कागजातहरु साथमा लिएर हिँड्न र सुरक्षामा खटिएका सुरक्षाकर्मीले माग गरेको खण्डमा आफूसँग भएको कागजात देखाई सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सहयोग पुर्याउन जिल्ला प्रसाशन कार्यालय रामेछापले आग्रह गरेको छ । 

सुरक्षा व्यवस्था कडा


रामेछापको सुरक्षा निकायले जिल्लाको सबै क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको जनाएको छ ।चुनावी गतिविधिमा अवरोध पुर्याउने शक्तिले अवरोध पुरयाउन सक्ने हेक्का राख्दै जिल्लाको सबै मतदान केन्द्रहरु र आसपासका सबै क्षेत्रहरुमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । 


सबै मतदान केन्द्रहरुमा मतदाताहरुले भयरहित र निर्भिकताका साथ मतदान गर्न सकुन भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछाने जानकारी दिनुभयो । 

 

Share It

Post Comments
थप विशेष