विशेष प्रकाशमानलाई बधाई दिँदै रवीन्द्र मिश्रले भने : गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !
Ujyaalo

काठमाडौं, मंसिर २३ –काठमाडौं क्षेत्र नम्बर १ बाट ८१८ मतले पराजित रवीन्द्र मिश्रले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाइ दिनुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह १०९३६ मत ल्याएर काठमाडौं १ बाट निर्वाचित हुनुभयो । दोस्रो स्थानमा रहनुभएका विवेकशील साझाका मिश्रले १०११८ मत प्राप्त गर्नुभयो । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५३३६ मत प्राप्त गर्नुभयो ।

चुनावी नतिजा आइसकेपछि मिश्रले प्रकाशमान सिंहलाई फोन गरेर बधाई दिनुभएको हो । उहाँले बिना संगठन नै पनि चार महिनामै आफ्नो पार्टीलाई भरपर्दो विकल्पका रुपमा लिएकोमा मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले प्रत्यक्षतर्फ आफूहरुले कम्तीमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी बन्ने सपना पूरा नभए पनि समानुपातिकतर्फ आफूहरुले उल्लेख्य मत ल्याउने बताउनुभयो ।

रवीन्द्र मिश्रले छोटो समयमै नागरिकबाट पाएको मायाका कारण देश निर्माणमा लाग्न आफूहरुलाई चुनौती थपिएको बताउनुभयो ।

रवीन्द्र मिश्रले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न नसके पनि नागरिकको मन जित्न सफल हुनुभएको छ । नेपाली राजनीतिप्रति युवाहरुले वितृष्णा व्यक्त गरिरहेका समयमा युवा पंक्तिलाई राजनीति केबल फोहोरी खेल हैन भन्ने मिश्रले स्पष्ट संकेत दिएका छन् । भलै उनले चुनावमा हारे, उनी र उनको पार्टी नेपाली राजनीतिमा एउटा विकल्पको रुपमा खडा भएको छ ।

लामो राजनैतिक अनुभव नभएको र कमजो्र संगठनात्मक संरचना नै रवीन्द्र मिश्रको मुख्य कारण हुन सक्छ । यदि नेपालका लागि केही गर्छु नै भनेर मिश्रहरु राजनीतिमा आएका हुन् भने उनीहरु अहिलेको हारबाट विचलित नभै जनताका बीचमा आफूलाई सशक्त रुपमा उभ्याउने प्रयास गर्नुपर्दछ ।

Share It

Post Comments
थप विशेष