विशेष फराकिलो मतअन्तरले जित्ने धादिङका भूमिप्रसाद त्रिपाठी को हुन् ?
Ujyaalo

धादिङ, मंसिर २३ – धादिङ क्षेत्र नं. १ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले प्रतिस्पर्धीभन्दा झण्डै २८ हजारको मतान्तरले विजयी हुनुभएको छ ।

उहाँ ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनुभयो ।

को हुन् त्रिपाठी ?

नेकपा एमाले जिल्ला कमिटी धादिङका कार्यबहाक अध्यक्ष तथा ३ नम्बर प्रदेश कमिटीका सदस्य भूमी त्रिपाठी २०२४ साल असार २३ गते बेनिघाट रोराङ गाउँपालिका – ३ मलेखुको रिचोकटारमा जन्मिनुभएको हो ।

आदर्श मावि गजुरीबाट एसएलसी पास गरेका त्रिपाठीले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

२०३६ मा आदर्श मावि गजुरीमा अखिलको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरु गरेका त्रिपाठी त्यही बेलादेखि विद्यार्थी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो ।

२०४९ सालमा नेपाल ल क्याम्पसमा स्ववियु सचिवमा निर्वाचित त्रिपाठी अहिले नेकपा एमाले जिल्ला कमिटी धादिङको कार्यवहाक अध्यक्ष तथा प्रदेश नम्बर ३ को प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

उहाँ अहिले बेनिघाट रोराङ गाउँपालिका – ३ मलेखुको रिचोकटारमै बस्नुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष