विशेष भूकम्पले उथलपुथल गराएको काठमाडौंको मतपरिणाम
Ujyaalo

कुमार रञ्जित/उज्यालो ।

काठमाडौं, मंसिर २३ –काठमाडौंमा प्रतिनिधिसभाको चुनाव परिणामले २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको स्मरण गराएको छ ।

मतगणना सुरु नहुँदै शुक्रबार बिहान आएको पराकम्पले थर्काएको काठमाडौंमा शनिबार बिहान आइपुग्दा नेपाली कांग्रेसवृत्तमा भूकम्पको स्मरण ताजा गराइसकेको थियो । मतदाताको स्मरण शक्ति कति शक्तिशाली र चलायमान हुन्छ भन्ने काठमाडौंको परिणामले स्पष्ट देखाएको छ ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह वामपन्थी गठबन्धनका उम्मेदवार अनिल शर्माभन्दा शक्तिशाली त थिए नै, तर राजनीतिमा नयाँ तरंगका रुपमा उदाएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उछिन्ने हुन् कि भन्ने अनुमान धेरैको थियो । तर केही सय मतको अन्तरबाट सिंह नै विजयी भए ।

उनको मतको परिणाममा बबरमहलका भक्तपुरे आप्रवासीको मत निर्णायक देखियो । शहरी शिक्षित मतदाता रहेको क्षेत्रभरी सिंह र मिश्रको प्रतिस्पर्धा ‘विन–विन’ अवस्थामा थियो । जब बबरमहल क्षेत्रको मतपेटिका खन्याइयो, सिंहको मत ह्वात्तै बढेको पाइयो । यतिबेला चासो त्यतातिर मोडिएको छ, कस्ता छन् त बबरमहलका मतदाता ?

धेरैलाई थाहा नहुन सक्छ, बबरमहल क्षेत्रलाई राजधानीको ‘सानो भक्तपुर’ पनि भन्ने गरिएको छ । त्यस भेगमा भक्तपुरबाट प्रवासित मतदाताको बाहुल्यता रहेको छ । राजनीतिक रुपमा नेपाली कांग्रेसप्रति सद्भाव राख्ने व्यवसायी भक्तपुरवासीहरु ०४५ साल भदौमा आएको भूकम्पपछि भक्तपुरमा भएको दूर्दान्त अप्रिय घटना ‘ह्योजु काण्ड’ पछि त्यता घडेरी किन्दै घर बनाउँदै नयाँ बस्ती बनाउन आइपुगेका हुन् ।

प्रजातन्त्रवादी भन्न रुचाउने कुल घर भक्तपुर भएका अधिकांश नेवाःहरुले यसअघिका चुनावमा पनि पूर्व उप–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री समेत रहिसक्नुभएका प्रकाशमान सिंहलाई नै मतदान गरेका थिए । ‘भक्तपुर विकास सहयोग संघ’ जस्तो कुल घर भक्तपुर भएका मतदाताको संस्था त्यस क्षेत्रमा क्रियाशील थियो । त्यसतर्फ विवेकशील साझा पार्टी र वामपन्थी गठबन्धनको पहुँच प्रभावकारी रहेन ।

यसै सन्दर्भमा विनाशकारी भूकम्पका बेलामा सिंहले त्यस क्षेत्रमा प्रदान गरेको सेवा र सुविधालाई मतदाताले रामैसँग स्मरण गरेको देखिएको छ । ‘भक्तपुर विकास सहयोग संघ’ ले विनाशकारी भूकम्पका समयमा र अन्य समयमा पनि भक्तपुरका पीडितलाई आवश्यक सहयोग र अन्य विकास निर्माणका काम समेत गर्ने गरेको छ ।

अर्कोतर्फ काठमाडौंकै ८ नम्बर क्षेत्रमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको पराजयलाई विशेष महत्वका साथ विश्लेषण गर्नुपर्ने हुन्छ । प्राचीन काठमाडौंको हनुमानढोका दरवार क्षेत्र र स्वयम्भू महाचैत्य जस्ता २ वटा विश्व सम्पदा साथै असंख्य सांस्कृतिक धरोधर रहेको यस क्षेत्रमा विनाशकारी भूकम्पका समयमा मन्त्री समेत रहेका जोशीले उद्धार र राहत प्रदान गर्ने कार्यमा देखाएको सुस्तता नै उनको पराजयको मुख्य कारण रह्यो । भूकम्पपछि एमालेको संगठनले देखाएको तदारुकताले सर्वत्र प्रशंसा पाइरहेका बेला कहिल्यै कुनै स्थानमा समयमा नपुग्ने जोशीका कारण उनकै कार्यकर्ताबीच आक्रोश व्याप्त भएको कसैबाट छिपेको थिएन ।

भू्कम्पपछि पुनर्निर्माणको काममा पनि जोशीले आफ्नो बर्चश्व कामय गर्न देखाएको कुटिलताका कारण उनको लोकप्रियतामा ह्रास आइरहेको बेला बहुचर्चित काष्ठमण्डप पुनर्निर्माणको विवादमा हस्तक्षेप र अदृश्य चलखेलका कारण उनको व्यक्तित्व झन् स्थानीयबीच खस्किन पुगेको थियो । यतिबेला काष्ठमण्डप पुनर्निर्माण विवादमा परेकोमा प्रमुख जिम्मेवार जोशीलाई ठहर्‍याउने स्थानीय सम्पदाप्रेमीहरुहरुको ठूलो जमात् रहेका छन् । आफ्नो भोट बैंक मजबूत गर्न दर्जनौं मन्दिरका साथै स्थानीय संघ–संस्थालाई रकम बाँडफाँड गर्दा पनि जोशीले काष्ठमण्डप विवादको दोषबाट मुक्त हुन सकेनन् ।

यसकारण नविन्द्रराज जोशीलाई मतदाताले भन्दा भूकम्पले हरायो भन्नेहरुको ठूलो जमात् ८ नम्बर क्षेत्रमा भेट्न सकिन्छ ।

 

Share It

Post Comments
थप विशेष