विशेष मत उनीहरुले हालिदिन्छन्, हामी नङमा रङ मात्र लगाउँछौँ
Ujyaalo

डिबी विष्ट/उज्यालो


बझाङ, मंसिर ८ – ‘भोट हाल्न म आफै सक्षम छु । आफ्नो मत सही तरीकाले हाल्ने क्षमता मसँग छ तर मतदान केन्द्रमा पुगेपछि आफन्तले ल्याउ म मत हालिदिन्छु भन्छन् । जाने बुझेका गाउँमा ठूलाबडाले ल्याउ भनेपछि कसरी नाई भन्नु ! हातको औलामा रङ लगायो, भोट हाल्ने अर्कै हुन्छन् । अरुले भोट हालिदिन्छन् अनि घर फर्किन्छु ।’


सुर्मा गाउँपालिका–३ की बसन्ती बोहराको अनुभव हो यो । २०६४ सालको चुनावमा उहाँलाई यस्तै भयो । हातको नङमा मसि त लगाउनुभयो तर भोट भने दिन पाउनुभएन । उहाँजस्तै यो भेगका धेरैको अनुभव यस्तै छ । बसन्तीले कक्षा १० सम्म पढ्न पाउनुभयो । बसन्तीको १७ वर्षको उमेरमा नै परिवारले विवाह गरीदिए । विद्यालयमा पढ्ने रहर थियो तर पाउनुभएन । विवाहपछि दुई छोरा जन्मिए ।


बसन्तीको दैनिकी सन्तान र परिवारको पालन पोषण र घरायसी काममा नै ठीक भयो । बसन्तीसँग फेसबुक चलाउन मिल्ने मोबाइल पनि छ । फेसबुकमा विभिन्न पार्टीका कार्यकर्ताले राखेका स्टाटस, समाचारलगायत सबै कुरा पढेर जानकारी पनि लिनुहुन्छ ।


२०६४ सालको चुनावमा मत दिन गएको भए पनि मत हालेको अनुभव भने उहाँसँग छैन । बसन्तीका आफन्तले भोट हालिदिन्छन् । ‘भोट हाल्न म आफै सक्षम छु । आफ्नो मत सही तरीकाले हाल्ने क्षमता मसँग छ तर मतदान केन्द्रमा पुगेपछि आफन्तले ल्याउ, म मत हालिदिन्छु भन्छन् । जाने बुझेका गाउँमा ठूलाबडाले ल्याउ भनेपछि कसरी नाई भन्नु ! हातको औलामा रङ लगायो, भोट हाल्ने अर्कै हुन्छन् । अरुले भोट हालिदिन्छन् अनि घर फर्किन्छु’ बसन्तीले सुनाउनुभयो ।

जयपृथ्वी नगरपालिका वडा नं. १ कैलासकी सिद्धादेवी सिंहको पनि यस्तै अनुभव छ । सिंहले ६ कक्षासम्म पढ्नुभएको छ । उहाँलाई सामान्य लेखपढ गर्न सजिलै आउँछ । मोवाइल पनि चलाउनुहुन्छ । मतपत्रमा लेखिएका अक्षर पढ्न र चिन्ह छुट्याउन पनि सक्नुहुन्छ तर उहाँले आफ्नै हातले मतपत्रमा छाप लगाउन भने पाउनुभएको छैन ।


सिद्धादेवी हुम्लाको साविक लाली गाविसबाट २०५३ सालमा विवाह गरेर बझाङ आउनुभएको हो । उहाँ बझाङ आएपछि ५ पटक चुनाव भयो । कुनै पनि चुनावमा उहाँले आफैले मत हाल्न पाउनुभएन । ‘भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन् । लाइन लगाउँछन् । जब भोट हाल्ने बेला हुन्छ, तपाई बिगार्नु हुन्छ, हामी हाल्दिन्छौँ भनेर मतपत्र खोस्छन्’ सिद्धाले भन्नुभयो, ‘गाउँकै जान्ने सुन्नेले त्यसो भनेपछि कसरी नाई भन्नु, उनीहरुले मत हाल्छन् । हामी नङमा रङ मात्र लगाएर फर्किन्छौ ।’ सिंहले आफ्नो गाउँका अधिकांश महिलाको मत दलका एजेन्ट, कार्यकर्ता, आफन्त र छिमेकीहरुले हालिदिने गरेको बताउनुभयो ।


बसन्ती बोहोरा र सिद्वादेवि सिंह त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यस्तो समस्या सुर्मा र कैलाशको मात्र होइन, बझाङ जिल्लाकै हो । मष्टा गाउँपालिकाकी ७८ वर्षकी राजिदेवी कठायत मतदानसम्बन्धी आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ ‘अहिलेसम्म एकपटक पनि आफैले भोट हालेको छैन । तपाईंले हाल्दा बिग्रन्छ भन्छन् । साँच्चै बिग्रने पो होकी भन्ने लाग्छ । सधैँ अरुले नै हालिदिन्छन् ।’

आफ्नो मत आफै हाल्न नपाएकोमा अधिकांश महिला गुनासो गर्छन् । तर उनीहरु आफन्त र छिमेकीको करकापको अगाडि बोल्न सक्दैनन् । ‘म मेरो मत आफै हाल्छु’ भन्ने हिम्मत उनीहरुमा आउँदैन । ‘बिहानदेखि बेलुकासम्म लाइनमा बस्नुपर्छ, आफैले मत हाल्न कहिल्यै दिँदैनन् । मत आफै हाल्न पाए त आफूलाई मन परेको नेतालाई हाल्थें होला । हामीलाई हाल्नै दिँदैनन्’ मष्टा गाउँपालिकाकै हिरादेवी कठायत भन्नुहुन्छ, ‘उनीहरुलाई हाल्न नदिए झगडा गर्छन् । खानु न पाउनु भोटका लागि के झगडा गर्नु भनेर चुप लाग्छु ।’

‘एउटा चुनावमा मेरो भोट नाति जयबहादुरले हालिदियो, अर्काे चुनावमा गाउँले नाता पर्ने भतिजाले मतपत्र खोसेर हाल्यो । कुन पार्टीका हुन थाहा छैन’ थलारा गाउँपालिकाकी असमती विष्टले भन्नुभयो, ‘खोसाखोस गर्छन् । हामी त अक्क न बक्क हुन्छौ ।’

मष्टा गाउँपालिकामा रहेको मालिका निम्न माध्यमिक विद्यालयको मतदान केन्द्रमा १ हजार १ सय ४७ मतदाता मध्ये ६ सय २० महिला मतदाता छन् । तिमध्ये ४ सय भन्दा बढी महिलाको मत अरुले नै हालिदिने गरेको स्थानीय प्रशान्त कठायत बताउनुहुन्छ । यस्तै सुर्मा गाउँपालिकामा १८ सयभन्दा बढी महिला मतदाता रहे पनि ११ सयभन्दा बढी महिलाको मत अरुले नै हालिदिने गरेको दौलीचौर माध्यमिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कलक बोहराले सुनाउनुभयो ।

‘हाम्रो गाउँका महिला जति सक्षम भए पनि सबै मत पार्टीका एजेन्टले नै हाल्ने गरेका छन्’ बुंगल नगरपालिकाका हिक्मत धामी भन्नुहुन्छ, ‘आफ्नो पार्टीलाई जिताउनका लागि मरिहत्ते गर्ने कार्यकर्ताहरु महिलाको हातबाट मत खोस्न पनि पछि पर्दैनन् ।’ हिक्मत धामीका अनुसार महिलाको मत आफन्तले नै खोसेर हालिदिने गरेका छन् । भोट हाल्न भन्दा पहिला नै पार्टीका एजेन्टबीच सहमति हुन्छ ।

‘कार्यकर्ताले उमेरको हद तोकेर आफूले मत हाल्ने कि महिलालाई नै हाल्न लगााउने भनेर निर्णय गर्छन्’ हिक्मत धामी भन्नुहुन्छ, ‘म आफै भोट हाल्छु’ भन्नेले पनि भोट हाल्न नै पाउँदैनन् । धामीका अनुसार एक जनाले कति जना महिलाको भोट हाल्न पाउने भन्ने पनि पार्टीका एजेन्टहरुले नै निर्णय गरेका हुन्छन् । एक जना व्यक्तिले २० देखि ३० जनाको मत पनि हालिदिन भ्याएका हुन्छन् ।

काँडाका नरेन्द्र बोहरा भन्नुहुन्छ, ‘सुरक्षा निकायका व्यक्तिहरु पनि राजनीति गर्ने नेता कार्यकर्ता हुन्छन् । मतदानस्थलमा उनीहरु जति पटक भोट हाले पनि केही बोल्दैनन् । हाल्नदिनु भन्छन्, मैले नै ७६ जना महिलाको भोट हालिदिएको छु ।’

उकेस बहादुर जेठाराको पनि यस्तै अनुभव छ । स्थानीय तहको चुनावमा २० देखि ३० जना महिलाको भोट हालि दिएको जेठारा बताउँछन् । राजनीतिक कार्यकर्ताले पहिला नै महिलालाई सबै कुरा भनिसकेका हुन्छन् । तिम्रो भोट फलानो (हरी, राम, श्याम ÷ए, वि, सी) ले हालिदिनुहुन्छ । जेठारा भन्नुहुन्छ, तपाईंले मत आफै नहाल्नु भनेर सिकाइएको हुन्छ । तिम्रो मत फलानोले हालिदिन्छ भन्नुको साटो भोट कसरी हाल्ने भनेर सिकाए भोट हाल्न नसक्ने महिलाहरु भोट हाल्न सक्ने हुन्थे होला । तर त्यसप्रति कसैको चासो छैन । धेरै जस्तो महिला त आफ्नो भोट आफै हाल्न नपाएपछि भोट हाल्न नै जाँदैनन् ।

अधिकांश महिला निरक्षर भएको र साक्षर महिलामा पनि आत्मविश्वासको कमीका कारण मत हाल्दा बिग्रने डरले अरुले नै हस्तक्षेप गर्ने गरेको महिला अधिकारकर्मी बताउँछन् । धेरै पुरुषलाई महिलाले आफूले चाहेकोभन्दा अर्काे उम्मेदवारलाई मत हाल्छन् कि भन्ने शंका गर्ने भएका कारण पनि महिला आफ्नो मत आफै हाल्नबाट बञ्चित हुने गरेको महिला अधिकार मञ्चकी पूर्वअध्यक्ष तथा महिला अधिकारकर्मी उमा केसीको भनाई छ । केसीका अनुसार झण्डै ७५ प्रतिशत महिलाको भोट पुरुषले खोसेर खसाल्ने गरेका छन् ।

बझाङको औशत साक्षरता ५५ दशमलव ५० प्रतिशत छ । जिल्ला समन्वय समितिको तथ्याङ्क अनुसार बझाङका झण्डै ७३ दशमलव ८३ प्रतिशत पुरुष साक्षर छन् भने ४० प्रतिशत मात्र महिला साक्षर छन् । बढीजसो महिलाहरु निरक्षर भएका कारण पनि उनीहरुको मत पुरुषले हालिदिने गरेको महिला अधिकारको क्षेत्रमा लामो समय काम गरेकी कलक खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘मत बिगार्छन् भन्ने बाहाना बनाए पनि सबैको नियत आफ्नो पक्षमा मत बढी खसाल्ने नै हुन्छ । एक हिसाबले भन्ने हो भने अधिकांश महिलाको मत कब्जा नै गरिन्छ भन्दा पनि हुन्छ ।’ महिला शसक्तीकरणको अभावका कारण यस्तो हुने गरेको खत्री बताउनुहुन्छ ।

बझाङमा १ लाख ४ हजार २ सय ७५ मतदाता मध्ये ५३ हजार ३ जना महिला मतदाता छन् । दूई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको बझाङ जिल्लालाई दुई क्षेत्रमा बिभाजन गरिएको छ । जसअनुसार क्षेत्र नम्बर (क) र (ख) मा महिला मतदाता नै बढी रहेका छन् । क्षेत्र नम्बर (क) मा ५१ हजार ५ सय ४ जना जम्मा मतदाता मध्ये २५ हजार ८ सय ५५ महिला र २५ हजार ६ सय ४९ पुरुष रहेका छन् भने क्षेत्र नम्बर (ख) मा २७ हजार १ सय ४८ महिला, एक जना तेस्रो लिङ्गी र २५ हजार ६ सय २२ पुरुष गरी जम्मा ५२ हजार ७ सय ७१ मतदाता रहेका छन् ।

पुरुषको भन्दा बहुमतमा रहेका महिलाको मत अधिकांश पुरुषले हालिदिने गरेका कारण महिलाको मतको उचित प्रतिनिधित्व नहुने गरेको जिल्लाका जानकारको विश्लेषण छ । प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले भने महिलाको मत अरुले हाल्ने प्रचलन रोक्नका लागि चुनावमा कडाइका साथ प्रस्तुत हुन लागेको बताउनुभयो । ‘हामीले यस विषयमा मतदान अधिकृतलाई कडा निर्देशन दिएका छौँ । एउटा व्यक्तिको मत अर्काेले कुनै पनि हालतमा हाल्न नपाओस् भनेर सचेत गराएका छौँ’ प्रजिअ जोशीले भन्नुभयो, ‘त्यस्तो गरेको पाइएमा मतदान अधिकृतलाई कारबाही हुन्छ ।’


आफ्नो मत आफै हाल्ने विषयमा जतिसुकै कडा नियम बनाए पनि मतदानस्थलमा यसको कार्यान्वयन नहुने र महिलाको मत उनका आफन्त, छिमेकी र दलका नेता कार्यकर्ताले खोसाखोस गर्ने प्रचलन अन्त्य गर्न गाह्रो हुने धेरैको अनुमान छ ।

 

Share It

Post Comments
थप विशेष