विशेष कांग्रेसको पुर्नसंरचनाका लागि तयार हुन गगन थापाको आग्रह
Ujyaalo

काठमाडौ, मंसिर २३ – काठमाडौ–४ बाट प्र्रतिनिधिसभामा विजयी भएका कांग्रेस नेता गगन थापाले अब पार्टीको पुनर्सरचना जरैबाट गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

विजयी भएलगत्तै काठमाडौको रातोपुलमा भएको विजयीसभामा उहाँले चुनावी परिणामपछि पार्टीको जरैबाट पुनर्सरचना गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो ।

दशकौंको इतिहास भएको पार्टी भएकाले कांग्रेसको जीवनमा यस्ता आरोह अवरोध धेरै आएकाले नेता कार्यकर्ता अहिलेको चुनावको प्रारम्भिक परिणामबाट अतालिनुको साटो पार्टीको पुनर्सरचनामा आआफ्नो योगदान दिनुपर्ने बेला आएको नेता थापाको भनाई छ ।

शिक्षा र स्वास्थ्यमा सवैको समान पहुँच, विदेशीएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौ बनाउने आफ्नो अठोट स्मरण गर्दै उहाँले यी र यस्तै मुख्य कार्यदिशा बनाएर काम गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।

उहाँले आफुसँगै प्रतिस्पर्धा गरेका एमालेका राजन भट्टराई र विवेकशील साझा पार्टीकी सुवुना बस्नेतलाई सम्बृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गर्नुभयो ।

चुनावी घरदैलोका क्रममा आफुलाई लक्षित गरि गरिएको बम विष्फोटको घटनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै नेता थापाले एउटा दलको अध्यक्ष तथा पुर्व प्रधानमन्त्री भइसकेको नेताले त्यस्तो अहंकार राख्न नसुहाउने बताउनुभयो ।

काठमाडौ ४ बाट लगातार तेश्रो पटक विजयी गराएकोमा मतदातालाई धन्यबाद दिंदै उहाँले अबका १५ बर्ष सक्रिय राजनीति गर्ने बताउनुभयो ।

 

 

Share It

Post Comments
थप विशेष