विशेष प्रदेश नम्बर १ बाट मिनेन्द्रले खोले कांग्रेसको खाता
Ujyaalo

मोरङ, मंसिर २३ – प्रदेश नम्बर १ मा कांग्रेसले बल्ल जीतको खाता खोलेको छ । धेरै ठाउँमा धमाधम हारिरहेको कांग्रेसका लागि मोरङ क्षेत्र नम्बर २ बाट डाक्टर मिनेन्द्र रिजालले कांग्रेसको जीतको खाता खोल्नुभएको हो ।

उहाँले एमालेका ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतले पछि पार्नुभएको हो । डाक्टर रिजालले ३५ हजार ८ सय १९ र पोखरेलले ३४ हजार १४ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मोरङका छ मध्ये चार क्षेत्रमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । एक क्षेत्रको गणना चलिरहेको छ ।

रिजालको राजनीतिक यात्रा

पहिलोपटक प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका मिनेन्द्र रिजालको जन्म विक्रम संवत २०१४ साल असोज ३० गते सुनसरीको धरानमा भएको हो । श्रीप्रसाद रिजाल र पुण्य कुमारी रिजालका छोरा मिनेन्द्रका एक छोरा र छोरी छन् । उहाँले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधी गर्नु भएको छ । उहाँले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाउनु भएको छ । त्यस्तै बेलायतको ल्यानक्यास्टर विश्वविद्यालय र नेपालकै त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा पनि उहाँले पढाउनुभएको छ ।

नेपाली कांग्रेसभित्र मात्रै होइन, उहाँ नेपाली राजनीतिक क्षेत्रमै विद्वान नेताका रुपमा चिनिनुहुन्छ । यसभन्दा अघि समानुपातिकतर्फबाट सभाषद बनेका रिजाल यसपल्ट भने प्रत्यक्षतर्फ मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएको छ । यो क्षेत्रमा नेपालीका कांग्रेसबाट पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तीन पल्ट जित्नु भएको थियो ।

कोइरालाले यस क्षेत्रबाट २०४८, ०५१ र ०५६ को संसदीय चुनावमा जित हासिल गर्नु भएको थियो । दोस्रो संविधान सभामा यस क्षेत्रमा पहिलो पल्ट नेकपा एमालेका ऋषिकेष पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई हराउँदै कांग्रेसको गढ तोड्नुभएको थियो । पहिलो संविधान सभामा भने आमोदप्रसाद उपाध्यायले नै यस क्षेत्रबाट चुनाव जित्नुभएको थियो ।

सेना समायोजन विशेष समितिमा सदस्यको भूमिकामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन उल्लेख्य भूमिका खेलेका मिनेन्द्र रिजाल सुशील कोइराला प्रधानमन्त्री हुँदा सूचना तथा सञ्चार मन्त्री बन्नुभएको उहाँ माधव कुमार नेपालको प्रधानमन्त्री कालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्नुभएको थियो ।

२०३३ सालदेखि नेपाली राजनीतिमा सक्रिय भूमिका खेलेका कांग्रेस नेता रिजालले पटकपटक गरी १ वर्ष जेल जीवन बिताउनुभएको छ । उहाँले दुई वटा पुस्तक लेख्नुभएको छ । त्यस्तै विभिन्न पत्रपत्रिकामा उहाँका दुई दजर्नभन्दा बढी लेखरचना प्रकाशित छन् ।

 

Share It

Post Comments
थप विशेष