विशेष उपप्रधानमन्त्री कमल थापासँग २४ घण्टे स्पष्टीकरण माग
Ujyaalo

काठमाडौं, मंसिर ८ – निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा भोट मागेकाले उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

२०७४ मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि शुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत माग्नुभएपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दिइएको छ ।

सोधिएको स्पष्टीकरण यस्तो छ

‘‘आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४/०५/१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि शुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (घ) को उपखण्ड (१) विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४/०८/०८ को निर्णयानुसार अनुरोध छ ।’’

Share It

Post Comments
थप विशेष