विशेष यस्तो छ प्रचण्ड चितवनबाट उठ्नुको कारण
Ujyaalo

चितवन, मंसिर ८ – पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासको लागि चितवन रोजेको बताउनुभएको छ ।

वाइसिएल नेपाल र युवा संघ नेपाल चितवन क्षेत्र नम्बर ३ को संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गृह जिल्ला, हुर्केको,पढेको र राजनीति सिकेको जिल्ला चितवन भएकैले अहिले चितवनवाट उम्मेदवार बनेको बताउनुभयो । विद्रोहको केन्द्र रोल्पा र राजधानी काठमाडाैंको सम्बन्धलाई जोड्नको लागि आफूले दुई क्षेत्रवाट चुनावमा सहभागी भएको उहाँले बताउनुभयो ।

सेना समायोजन, हतियार व्यवस्थापनसँगै शान्ति प्रक्रियालाई पूर्णता दिनकै लागि पनि रोल्पा र काठमाडाैंबाट आफैले उम्मेदवारी दिनुपरेको बताउनुभयो । त्यसपछिको चुनावमा विविध कारणले मधेश/काठमाडौं दूरी घटेको र राजधानीसँग मधेशको दूरी घटाउनकै लागि सिरहा र काठमाडौंबाट उम्मेदवारी दिएको उहाँले बताउनुभयो । त्यसबेला आफूले चाहेर पनि चितवन आउन नपाएको बताउदै अध्यक्ष प्रचण्डले अहिले संविधान निर्माणपछि स्थानीय तहको निर्वाचन समेत भएर अगाडि बढेको अवस्थामा आफू चितवन आएको बताउनुभयो ।

अहिले विकासको प्रचुर सम्भावना रहेको चितवन, अफ्नो गृह जिल्ला, हुर्केको, बढेको/पढेको र राजनीति सिकेको क्षेत्र भएकै कारण चितवनबाट चुनावमा उठेको बताउनुभयो । चितवनमा विकासका सम्भावना धेरै रहेको बताउदै उहाँले जिल्लालाई पर्यटन, शिक्षा,स्वास्थ्य र कृषिको हबको रुपमा विकास गरी मोडल टाउनको रुपमा चितवनलाई विकास गर्न सकिने बताउनुभयो ।

एमालेका नेता मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही नयाँ रेकर्ड बनाएको बताउदै अध्यक्ष प्रचण्डले कम्युनिष्ट सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरे र रेकर्ड बनाएको बताउनुभयो । ‘नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरीमा पर्यो, धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् तर हामीले केही रेकर्ड राखेका छौँ’, प्रचण्डले भन्नुभयो, ‘सत्तरी वर्षदेखि भूमरीमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको छ ।’

Share It

Post Comments
थप विशेष