विशेष यस्तो छ गणित शिक्षकदेखि उपप्रधानमन्त्रीसम्मको कृष्णबहादुर महराको यात्रा
Ujyaalo

दाङ, मंसिर २३ – दाङ क्षेत्र नम्बर २ बाट माओवादीका कृष्णबहादुर महरा झण्डै १५ हजार मतान्तरले विजयी हुनुभएको छ । वाम गठबन्धनका उम्मेदवार महराले ४० हजार ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्रात्त गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा शेरबहादुर देउवा नेतत्वको सरकारका उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई बिना विभागीय बनाउँदा उहाँ पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारीबाट मुक्त हुनुभयो । २०७३ देखि पार्टी केन्द्रीय कार्यालय सदस्य रहेका महरा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उपप्रधान तथा अर्थमन्त्री हुनु भएको थियो । त्यसअघि २०६७ सालमा पनि उहाँ उपप्रधान तथा गृह मन्त्री हुनु भएको थियो ।

२०७० सालको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित महरा २०७१ सालमा पार्टीको महासचिवमा निर्वाचित हुनु भएको थियो । २०३५ र ०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भएपछि उहाँ राजनीतिमा सक्रिय हुनु भएको हो । २०३६ सालदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि बनेका महरा २०३७ सालमा तत्कालीन नेकपा चौमको रोल्पा जिल्ला सदस्य हुनुभयो ।

२०३९ देखि ०४१ सालसम्म अनेरास्ववियू आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष हुनुभयो । २०४१ सालदेखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको मन्त्री बनेका उहाँ २०३६ सालदेखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष काम गर्नुभयो । २०४८ सालदेखि नेकपा मशालको रोल्पा जिल्ला पार्टी सेक्रेटरी भएका महरा २०४८ सालको चुनावमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता बनेका महरा त्यही वर्ष नेकपा एकता केन्द्रको क्षेत्रीय संगठन समिति र राप्ती अञ्चलको सदस्य हुनुभयो ।

२०५१ सालमा नै नेकपा माओवादीको पश्चिामाञ्चल क्षेत्रीय ब्यूरो सदस्य बनेका महरा २०५३ सालको असारमा केन्दीय सदस्य र २०५५ सालमा पोलिटब्यूरो सदस्य हुनुभयो । माओवादी द्वन्द्वका क्रममा २०५८ सालमा तत्कालीन सरकारसँग पहिलो पटक वार्ता हुँदा महरा वार्ता टोली संयोजक हुनुहुन्थ्यो ।

२०६० सालमा सरकारसँग भएको वार्तामा पनि माओवादीको तर्फबाट प्रवक्ता भएका महरा २०६१ सालमा पार्टी प्रवक्ता पनि हुनुभयो । २०६२ सालमा स्थायी समिति सदस्य र सेक्रेटारियट सदस्य हुनुभयो । २०६३ सालमा तत्कालीन सरकारसँग वार्ताको लागि गठन भएको वार्ता टोलीको संयोजक बनेका उहाँ अन्तरिम संविधान जारी भएपछि निर्मित अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा माओवादीको संसदीय दलको नेता पनि बन्नुभयो ।

चैतमा गठन भएको अन्तरिम सरकारको सूचना तथा संचार मन्त्री र सरकारको प्रवक्ता भएका महरा २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । २०६५ सालको भदौमा प्रचण्ड नेतृत्वको सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता बनेका महरा २०६५ सालमा पार्टी एकतापछि एनेकपा माओवादीको स्थायी समिति सदस्य र २०६६ सालमा अन्तर्राष्ट्रिय ब्यूरोको ईन्चार्ज हुनुहुन्थ्यो ।

२०१५ साल असार १५ गते रोल्पाको लिवाङ ७ धारापानीमा जन्मिएका महराले शिक्षाशास्त्रमा स्नातक गर्नु भएको छ । बालकल्याण उच्चमावि लिबाङबाट एसएलसी गरेका महराले प्रविणता प्रमाण पत्र तह विज्ञान विषयमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट गर्नुभयो । त्रिविवि नेपाल पोखरा बाट उहाँले स्नातक तह पास गर्नु भएको छ ।

 

Share It

Post Comments
थप विशेष