विशेष सुनसरीमा अशोक राईलाई संकट !
Ujyaalo

सुनसरी, मंसिर २३– सुनसरीका चार वटा निर्वाचन क्षेत्र मध्य २ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । तर दुई शिर्ष नेता भने संकटमा परेका छन् । क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई दोब्बर मतले पछि पर्नु भएको छ ।

सुरु देखिनै पछि परेका राई जति मत गन्दै गयो उति नै मतान्तरमा पछि पर्नु भएको छ । पटक पटक क्षेत्र परिवर्तन गर्दै चुनावमा उठेका नेता राई यसपटक नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेपनि जित्ने संभावना कमजोर बन्दै गएको छ । एमालेका उम्मेदवारसँगको मतान्तर झण्डै आठ हजार पुगेको छ ।

यसअघिका चुनावमा खोटाङबाट विजयी भएका राई पछि उदयपुरबाट उम्मेदवार बन्नुभयो । यस पटक उहाँले उदयपुर पनि छाडेर सुनसरी रोज्नु भएको थियो । तर त्यहाँ पनि अशोक राईका लागि राम्रो संकेत देखिएको छैन ।

पछिल्लो मत परिणाम अनुसार अशोक राईको ७ हजार २ सय ४६ मत छ । तर उहाँका प्रतिस्पर्धि एमालेका जयकुमार राईको मत १५ हजार ४० पुगेको छ ।

हरेक पटक मतपरिणाम घोषणा गर्दा मतान्तर थप फराकिलो बन्दै गएको छ । एमाले छाडेर संघीय समाजवादीमा लागेका राईलाई एमाले उम्मेदवारले नै संकटमा पारेका हुन् ।

 

Share It

Post Comments
थप विशेष