विशेष मतगणना भैरहेका क्षेत्रमा शीर्ष नेताहरुको अवस्था के ?
Ujyaalo

काठमाडौं, मंसिर २३ – शीर्ष नेताहरुमध्ये अहिलेसम्म एमालेका माधवकुमार नेपाल र नयाँशक्तिका डा. बाबुराम भट्टराई विजयी भैसकेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजपाका संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायत धेरै शीर्ष नेताहरुले उम्मेदवारी दिएका क्षेत्रमा मतगणना भैरहेको छ ।

यीमध्ये राप्रपाका कमल थापा, कांग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला र विमलेन्द्र निधि प्रतिष्पर्धीभन्दा पछि छन् भने एमालेका वामदेव गौतम झिनो मतले मात्र अगाडि हुनुहुन्छ । अरु शीर्ष नेताहरु प्रतिष्पर्धी भन्दा निकै अघि छन् ।

कुन नेताको अवस्था के ?

कांग्रेस सभापति शेरबहादुर देउवाको जित सुनिश्चित जस्तै छ । उहाँले १७ हजार ४ सय ५ मत ल्याउँदा माओवादीका खगराज भट्टको १० हजार ४ सय ८२ मत आएको छ ।

तर कैलाली ५ मा देउवा पत्नी आरजु राणा एमालेका नारदमुनि रानाभन्दा २ हजार मतले पछाडि हुनुहुन्छ ।

तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका कृष्णकुमार श्रेष्ठभन्दा ४ हजार मतले पछाडि हुनुहुन्छ ।

झापा ५ मा केपी शर्मा ओली दोब्बर भन्दा बढी मतले अगाडि हुनुहुन्छ । उहाँको २९ हजार १ सय ६७ र कांग्रेसका खगेन्द्र अधिकारीको १३ हजार ५ सय १८ मत छ ।

चितवन ३ मा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेभन्दा ४ हजार मतले अगाडि हुनुहुन्छ । रुपन्देही २ मा एमालेका विष्णु पौडेल झण्डै तेब्बर मतले अगाडि हुनुहुन्छ ।

भक्तपुर २ मा कांग्रेसका दमननाथ ढुंगानाको जित्ने सम्भावना निकै कम छ । एमाले उम्मेदवार महेश बस्नेत झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।

रोल्पामा वर्षमान पुनको जित सुनिश्चित छ । उहाँको २७ हजार ९ सय ७ मत आउँदा कांग्रेसका अमरसिंह पुनको १४ हजार १ सय ३ मात्रै मत आएको छ ।

मकवानपुरमा राप्रपाका कमल थापा एमालेका कृष्णप्रसाद दाहाल भन्दा ५ हजार मतले पछाडि हुनुहुन्छ ।

झापा ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन भन्दा ८ हजार मतले पछाडि हुनुहुन्छ ।

धनुषा ३ मा राजपाका राजेन्द्र महतोले कांग्रेसका विमलेन्द्र निधिलाई ३ हजार मतले पछि पार्नुभएको छ ।

बर्दियामा एमाले उपाध्यक्ष वामदेव गौतम झिनो मतले मात्र अगाडि हुनुहुन्छ । उहाँको २५ हजार ७ सय ४३ मत आउँदा कांग्रेसका संजयकुमार गौतम २५ हजार १ सय ३४ मत आएको छ ।

नुवाकोटमा कांग्रेसका अर्जुननरसिंह केसी र डा. रामशरण महत सुरुदेखि नै प्रतिस्पर्धी भन्दा पछाडि हुनुहुन्छ ।

गुल्मी १ मा प्रदिपकुमार ज्ञवाली कांग्रेसका चन्द्र भण्डारी भन्दा ७ हजार मतले अगाडि हुनुहुन्छ ।
इलाममा एमालेका झलनाथ खनाल र सुवास नेम्वाङ प्रतिस्पर्धी भन्दा निकै अघि हुनुहुन्छ ।

नवलपरासी पूर्व १ मा कांग्रेसका शशांक कोइराला माओवादीका भविश्वर पराजुलीभन्दा ४ हजार मतले अगाडि हुनुहुन्छ ।

सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदार एमालेकी भगवती चौधरीभन्दा २ हजार मतले पछाडि हुनुहुन्छ ।

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल कांग्रेसका प्रकाशशरण महतभन्दा ४ हजार मतले अगाडि हुनुहुन्छ ।

अछाममा एमाले उपाध्यक्ष भीम रावल कांग्रेसका भरतकुमार स्वाँरभन्दा ४ हजार मतले अगाडि हुनुहुन्छ ।

महोत्तरी ३ मा राजपाका महन्थ ठाकुर एमालेका विजयकुमार चौधरीभन्दा २ हजार मतले अगाडि हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष