विशेष उदयपुर क्षेत्र नम्वर २ मा माअाेवादीका सुरेशकुमार राई विजयी
Ujyaalo

उदयपुर, म‌‌सिर २४- उदयपुर क्षेत्र नम्वर २ मा माअाेवादीका सुरेशकुमार राई विजयी हुनु भएको छ । उहाँले २५ हजार ५ सय ५९ मत पाउनुभयो ।

उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका नायणबहादुर कार्कीले १५ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ । कार्की चुनाव प्रचारका क्रममा वम आक्रमणमा परि घाईते हुनुभएको छ ।

उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।


को हुन् सुरेश कुमार राई ?

सुरेश कुमार राई नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा एक नम्बर प्रदेशको कार्यालय सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३२ सालको माघ २२ गते भएको हो । उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

ज्योति माध्यामिक विद्यालय बेलटारबाट एसएलसी गरेका सुरेशले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट प्रविणता प्रमाणपत्र तह पास गर्नुभयो । २०४८ सालमा अखिलको प्रारम्भिक कमिटीको सदस्यता लिंदै उहाँ राजनीतिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । तर एक वर्ष नपुग्दै २०४९ सालमा खम्बुवान मुक्ति मोर्चाको सदस्यता लिनुभयो र अखिल छाड्नुभयो ।

२०५३ सालमा खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको क्षेत्रीय सदस्य हुनुभयो । २०५५ सालमा खम्वुवानले माओवादीसँग संयुक्त मोर्चा बनाएपछि उहाँ पनि त्यतै लाग्नुभयो ।

२०६० सालमा माओवादीको केन्द्रीय सदस्य बनेका सुरेश त्यही वर्ष क्षेत्रीय इन्चार्ज र पूर्वी कमाण्डको जिम्मेवारी पाउनुभयो ।

२०७० सालमा उदयपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनेका सुरेश पराजित हुनु भएको थियो । त्यतिबेला यो क्षेत्रमा एमालेले जितेको थियो । अहिले भने उहाँ एमालेसँगकै गठबन्धनबाट उम्मेदवार बन्नु भएको हो ।

 

Share It

Post Comments
थप विशेष