विशेष इलाम १ मा झलनाथ खनालको पाँचौ‌‌ जित
Ujyaalo

इलाम,म‌‌सिर २४- इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल विजयी हुनु भएको छ । उहाँले प्रतिस्पर्धिलाई भारि मतान्तरले हराउनु भएको हो ।

खनालले ३६ हजार ८ सय ७ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत पाउनुभयो । यो क्षेत्रमा ८ जना प्रतिस्पर्धि रहेका थिए ।

पाँच जित एक हारकाे यात्रा

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छैटौं पटक इलाम १ बाट प्रतिष्पर्धा गर्नुभएको छ । २०४८, २०५१, २०६४ र २०७० सालमा गरी चारपटक सोही क्षेत्रबाट निर्वाचित भएका खनाल २०५६ सालमा भने कांग्रेसका बेनुप प्रसाईसँग ७० मतको अन्तरमा पराजित हुनु भएको थियो ।

नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालको जन्म २००६ साल चैत ६ गते साँखेजुङ्ग–४, इलाममा भएको हो । खनालले बिएससी र बिएसम्मको अध्ययन गर्नुभएको छ ।

खनाल गणतन्त्र नेपालको ३४ औं प्रधानमन्त्री हुनुहुन्छ । खनाल २०६७ माघ २० गतेदेखि २०६८ भदौ १२ गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।

अनेरास्वयवियूबाट राजनीति सुरु गरेका खनाल तत्कालिन नेकपा (माले)को पोलिटव्यूरो सदस्य हुँदै महासचिव समेत हुनुभयो । २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) एकीकरण भई बनेको नेकपा एमालेको स्थायी सदस्य हुँदै खनाल २०६६ सालमा बुटवलमा भएको महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो ।

खनालले एकवर्ष बाग्लुङ्गको गल्कोट माविमा शिक्षण समेत गर्नुभएको थियो । पढाउँदा पढाउँदै राजनीति गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको थियो । पछि इलाम पुगेर पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरेको बेला पनि उहाँ पक्राउ पर्नुभयो र १४ महिना जेल बस्नुभयो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा वाममोर्चाको उच्चस्तरीय नेता रहेका खनाल प्रजातन्त्र प्राप्तिपछि बनेको अन्तरिम सरकारमा कृषि, भूमिसुधार र वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो ।

पार्टी अध्यक्ष हुँदा खनालले आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समेत असहयोग गरेको र आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयत्न गरेको आरोप छ । उहाँ छिमेकी देश भारतले नरुचाएका नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री हुँदा भारतले भ्रमणको निम्तो समेत दिएको थिएन ।

साहित्यमा पनि रुची राख्ने खनाल अभिमन्यूको नामबाट लेख लेख्नुहुन्छ । माक्र्सवादी साहित्य अध्ययनमा विशेष रुची राख्ने खनालका १० वटा भन्दा धेरै पुस्तक प्रकाशित छन् ।

 

 

Share It

Post Comments
थप विशेष