विशेष काठमाडौंमा तेस्रो भयो विवेकशील साझा, कसको कति मत ?
Ujyaalo

काठमाडौं, मंसिर २४ –‘यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व’ नाराका साथ प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा होमिएको पार्टी हो विवेकशील साझा । काठमाडौं १ बाट उम्मेदवारी दिएका रवीन्द्र मिश्रले जिते भने विवेकशील साझाको राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा अवतरण हुनेछ भन्ने धेरैले आंकलन गरेका थिए । तर चुनाव विवेकशीलले सोचेजस्तो भएन । मिश्रको झिनो अन्तरको हारले नै विवेकशीललाई राष्ट्रिय पार्टी बन्नबाट रोकेको छ । ।

प्रत्यक्षतर्फ काठमाडौंका सबै क्षेत्रमा पाएको मतलाई आधार मान्ने हो भन्ने समानुपातिकमा पनि विवेकशीलले राम्रै मत पाउने देखिन्छ । प्रतिनिधिसभातर्फ काठमाडौं १ बाहेक सबै निर्वाचन क्षेत्रमा विवेकशील तेस्रो स्थानमा रहेको छ । काठमाडौं १ मा दोस्रो स्थानमा रहनुभएका रवीन्द्र मिश्रले १०११८ मत प्राप्त गर्नुभएको छ । यो मतलाई एकदमै लोकप्रिय मत मान्न सकिन्छ । बलियो प्रतिस्पर्धी हुँदा हुँदै पनि मिश्रले केबल ८१८ मतान्तरले हार्नुलाई विवेकशीलको बढ्दो लोकप्रियतालाई देखाउँछ । देशैभर लहरको रुपमा उदाएको वाम गठबन्धन काठमाडौं १ मा भने तेस्रो स्थानमा खुम्चन पुग्यो ।

काठमाडौं २ मा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध उम्मेदवार बनेका विवेकशीलका सूर्यराज आचार्यले पनि ७४३७ मत प्राप्त गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा पनि विवेकशील साझाकी उम्मेदवार सुमित्रा सिंह लामाले २२०५ मत प्राप्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा भएको लोकप्रियतालाई भोटमा ‘कन्भर्ट’ गर्न नसक्ने अर्की उम्मेदवार हुनुहुन्छ सुबुना बस्नेत । उहाँ दुई पार्टीका दुई प्रभावशाली नेताहरुको विरुद्धमा उत्रनुभएको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी हुनुभयो । दोस्रो स्थानमा एमालेका बौद्धिक नेता डाक्टर राजन भट्टराई रहनुभयो । तेस्रो स्थानमा रहनुभएकी सुबुना बस्नेतले ३०४० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै काठमाडौं ५ मा एमालेका महासचिव इश्वर पोखरेल र नेपाली कांग्रेसका नेता प्रकाशशरण महतविरुद्ध उम्मेदवारी दिएका विवेकशील साझाका संयोजक उज्जवल थापा पनि तेस्रो स्थानमा हुनुहुन्छ । काठमाडौं ५ मा अहिले पनि मतगणना भैरहेको छ । उज्जवल थापाले ३९४३ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं ६ वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदी र कांग्रेस उम्मेदवार तथा वर्तमान रक्षामन्त्री भिमसेनदास प्रधानसँग प्रतिस्पर्धामा रहेका रमेश चिलुवाल ४२२५ मत ल्याएर तेस्रो स्थानमा रहनुभयो ।

काठमाडौं ७ मा एमालेका लोकप्रिय नेता रामवीर मानन्धरसँग प्रतिस्पर्धामा रहनुभएकी विवेकशील साझाकी उम्मेदवार अनुपा श्रेष्ठले पनि राम्रै मत पाउनुभएको छ । लामो समय पत्रकारिता पेशामा लाग्नुभएकी श्रेष्ठले ५३७६ मत प्राप्त गर्नुभयो ।

काठमाडौं ८ बाट विवेकशील साझाका उम्मेदवार पुकार बम ४४१४ मतसहित तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा एमालेका जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यस्तै काठमाडौं ९ बाट उम्मेदवार बनेका विवेकशील साझाका उम्मेदवार मिलन पाण्डेले ४९४६ मतसहित तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा एमाले नेता कृष्णगोपाल श्रेष्ठ जियी हुनुभयो ।

काठमाडौं १० मा कांग्रेसका राजन केसी र वाम गठबन्धनका हितमान शाक्यसँग प्रतिस्पर्धामा उत्रिएका प्रदिप ढकाल २००३ मतसहित प्राप्त गर्नुभएको छ ।

त्यस्तै ललितपुर क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा रहेका अमिरराज महर्जनले ५४०८ मत ल्याउनुभएको छ । 

छोटो समय मात्रै तयारी गरेर चुनावमा आए पनि लोकप्रिय मत हासिल गरेको विवेकशीलले काठमाडौंबाहिर पनि राम्रै मत पाएको छ । प्रत्यक्षमा एक सिट पनि नजिते पनि विवेकशील साझाले समानुपातिकमा राम्रै मत ल्याउँदा संसदमा स्वतन्त्र रुपमा उपस्थिति जनाउनेछ । सामाजिक अभियानबाट राजनीतिमा आएको विवेकशील साझाले सम्मानित मत पाएको छ ।

बिना संगठन यति मत ल्याउनुलाई कम आंकलन गर्न सकिन्न । अझ राजनीति भनेपछि नाक खुम्च्याउने युवा पुस्तालाई राष्ट्रको समग्र विकासमा राजनीतिको विशेष भूमिका हुन्छ भन्ने सन्देश विवेकशीलले दिएको छ ।

 

Share It

Post Comments
थप विशेष