विशेष ह्याट्रिक गर्दै कांग्रेसको साख जोगाए अभिषेकले
Ujyaalo

कपिलवस्तु, मंसिर २४ – कपिलवस्तुको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी हुनुभएको छ ।

अभिषेकप्रताप साहले १९ हजार ९ सय ६६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका मंगलप्रताप गुप्ताले १५ हजार ८ सय ३ मत ल्याउनुभयो ।

अभिषेककुमार गुप्ताले कपिलवस्तुमा वाम गठबन्धनको चुनौती छिचोल्दै विजयी हुनुभयो । कपिलवस्तु २ मा एमालेका बृजेशकुमार गुप्ता विजयी भइसक्नुभएको छ । कपिलवस्तु १ मा पनि माओवादीका चक्रपाणी खनाल बलदेवले कांग्रेसका दीपकुमार उपाध्यायलाई पछि पार्नुभएको छ । तर कपिलवस्तु ३ मा भने अभिषेकप्रताप साहको जितले कांग्रेसलाई राहत मिलेको छ ।

२०३९ साल असोज १९ गते कृष्णनगर –२, कपिलवस्तुमा जन्मिएका अभिषेक प्रताप साहले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०६३ सालको पुनःस्थापित संसदको सदस्यको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति थाल्नु भएको हो । बुवा अजयप्रताप साह र आमा सरोजका छोरा अभिषेकले वाणिज्य संकायबाट स्नातक गर्नुभएको छ ।

उहाँले भारतस्थित गोरखपुर विद्यालयबाट एसएलसी र भारतकै लखनऊ कलेजबाट स्नातक सम्मको अध्ययन गर्नुभएको हो । साह २०६४ सालको संविधानसभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका मञ्जुर अहमदलाई पराजित गर्दै विजयी हुनु भएको थियो ।

२०७० सालको चुनावमा पनि ८ हजार ५ सय ५७ मत ल्याएर विजयी हुनुभयो । २ पटक संविधानसभा चुनावमा विजयी भए पनि अहिले सम्म मन्त्री भने हुनुभएको छैन । १ महिना अघि संघीय समाजवादी फोरमको उपमहासचिव पदबाट राजीनामा गरी नेपाली कांग्रेस प्रवेश गरेका साह हाल कृष्णनगर नगरपालिका कृष्णनगरमा बसोबास गर्दै आउनु भएको छ ।

 

Share It

Post Comments
थप विशेष