विशेष नमज्जाले हारे एक से एक वरिष्ठ नेताहरु
Ujyaalo

काठमाडौं, मंसिर २४ – देश संघीय संरचनामा गइसकेपछिको पहिलो संसदीय चुनावमा निकै अचम्मलाग्दा नतिजा निस्कने क्रम जारी छ । चुनावअघि वामगठबन्धनबाट कांग्रेस जत्ति आत्तिएको थियो, चुनावको नतिजाले कांग्रेसका नेताहरुलाई अझै धेरै अत्याएको छ ।

वाम गठबन्धनका उम्मेदवारसित कांग्रेसका अधिकांश वरिष्ठ, चर्चित र पुराना नेताहरु हारेका छन् भने केही अझै औपचारिक हारको घोषणा पर्खेर बसेका छन् । हार्ने नेताको सूचीमा कोइराला परिवारका भित्रिया र कांग्रेसका नीतिनिर्माताहरु समेत परेका छन् ।

कोइराला परिवारको साखले काम गरेन

शेरबहादुर देउवापछि नेपाली कांग्रेसमा सभापतिको दौडमा रहेका कांग्रेसका नेता शेखर कोइराला मोरङबाट हार्नुभयो । नेता शेखर कोइराला नेकपा एमालेका लोकप्रिय नेता लालबावु पण्डितसँग हार्नुभएको हो । लालबावु पण्डितको ३३ हजार ९ सय ४१ मत आउँदा शेखरको ३३ हजार २ सय ६ सय ६६ मत आयो ।

हठले हारे विमलेन्द्र निधी

शेरबहादुर देउवापछि कांग्रेस सभापतिका अर्का दावेदार विमलेन्द्र निधी पनि यो चुनावमा पराजित हुनुभयो । पटक पटक मन्त्री भैसकेका र कांग्रेसको महामन्त्री पद समेत सम्हालिसकेका निधीलाई उहाँको आफ्नै क्षेत्रमा गएर राजपाका नेता राजेन्द्र महतोले हराई दिए ।

सर्लाहीबाट धनुषा ३ मा चुनाव लड्न पुगेका महतोलाई सजिलै हराउने निधिको सपनालाई ३ हजार मतको अन्तरले राजेन्द्र महतोले ३० हजारभन्दा बढी मत ल्याएर टुक्र्याउनु भयो । मधेश आन्दोलनको समयमा विमलेन्द्र निधी गृहमन्त्री हुनुहुन्थ्यो ।

विपक्षीले उहाँलाई मधेश आन्दोलनका विरोधीका रुपमा चित्रण गरे । अर्को कुरा राजपासँग तालमेल गर्न नजान्दा विमलेन्द्रले बुवा महेन्द्रनारायणको साख जोगाउन सक्नुभएन । धनुषा ३ मै मात्र उठ्ने अडान नलिएको भए उहाँ हारबाट जोगिन सक्ने सम्भावना जीवितै रहन्थ्यो ।

बौद्धिकताले जिताएन महेश आचार्यलाई

कांग्रेसका बौद्धिक नेता महेश आचार्य पनि यसपल्टहारबाट बच्न सक्नुभएन । मोरङ ४ मा नेता आचार्य माओवादीका नेता अमनलाल मोदीसँग पराजित हुनुभयो ।

गिरिजाप्रसाद कोइरालासित लामो समय काम गरेका र अर्थमन्त्रीसमेत रहेका आचार्य माओवादीका मोदीसँग झण्डै ७ हजार मतले पराजित हुनुभयो । अर्थमन्त्री हुँदा राम्रै प्रतिक्रिया पाएका आचार्य गृह जिल्ला कम जाने नेताका रुपमा चिनिनुहुन्छ । त्यो पनि हारको एउटा कारण हुन सक्छ ।

गठबन्धनको हुरीले लडायो बलबहादुर केसीलाई

कांग्रेसका धेरै नेता हार्दा पनि सोलुखुम्बुमा बलबहादुर केसीले हार्छन भन्ने कमैले मात्र सोचेका थिए । तर यसपटक वाम गठबन्धनले ल्याएको हुरीले सोलुमा बलबहादुर केसीलाई पनि तासको पत्ता झैँ ढालिदियो । बलबहादुर केसी माओवादीका हेमकुमार राईसँग झन्डै ४ हजार मतको अन्तरले हार्नुभयो । राइले १४ हजार ५ सय ५८ मत ल्याउँदा केसीले १० हजार पुर्याउन सक्नु भएन ।

भूतले खाजा खाने बेलामा उठे दमननाथ ढुंगाना

२०१७ सालदेखि कांग्रेसको राजनीतिमा अड्डा जमाएर बसेका र २०४८ सालको चुनावमा काठमाडौबाट जितेर संसदको सभामुख भैसकेका दमननाथ ढुंगाना पनि यसपटक उहाँकै शब्दमा भूतले खाजा खाने बेलामा चुनाव लड्न भक्तपुर पुग्नुभयो । र, राष्ट्रिय राजनीतिमा उदाउन थालेका युवा उम्मेदवार महेश बस्नेतको पक्षमा आएको लहरमा परेर हार्नु भयो ।

नेपाली राजनीतिका बौद्धिक र वरिष्ठ अधिवक्ता ढुंगानाले भक्तपुर २ बाट एमालेका महेश बस्नेतसित १८ हजार मतले हार्नुभयो ।

संघीय चुनाव फापेन नविन्द्रराज जोशीलाई

कांग्रेसका लोकप्रिय नेता नविन्द्रराज जोशीलाई पनि संघीय नेपालको पहिलो संसदीय चुनाव फापेन । काठमाण्डौं ६ मा उहाँ एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित हुनुभयो । चुनावअघि जोशीले एमालेका श्रेष्ठलाई कम आँक्नुभएको थियो । जोशीले १२ हजार ९ सय ५३ मत ल्याउँदा एमालेका श्रेष्ठले १३ हजार ३ सय ९७ मत ल्याउनुभयो ।

पशुपतिशमशेर राणालाई बुढेसकालमा लौरोले साथ दिएन

राप्रपा प्रजातान्त्रिककै अस्तित्व धरापमा परेका बेला अध्यक्ष पशुपति शमशेर राणाको जितले राहत मिल्छ भन्ने अनुमान थियो । तर राजनीतिका चतुर खेलाडी मानिने राणाको पनि वाम गठबन्धनका सामु केही चलेन । बुढेसकालमा लौरोको सहाराले सिन्धुपाल्चोकका हिमाली र उच्च पहाडी क्षेत्र चहारेका राणा एमालेका शेरबहादुर केसीसँग पराजित हुनुभयो । सिन्धुपाल्चोक २ मा एमालेका तामाङले ३८ हजार ४ सय १ मत पाउँदा राप्रपा प्रजातान्त्रिकका राणाको ३० हजार ३ सय ६९ मत मात्रै आयो । लौरो मात्रै होइन, उहाँले भारतमा रहेकी आफ्नी छोरी देवयानीलाई पनि चुनावी प्रचारमा खटाउनुभयो । पूर्व युवराज दिपेन्द्रसँगकाे सम्बन्धका कारण चिनिएकी देवयानीको साथले पनि राणालाई जिताउन सकेन ।

बौद्धिक नेताको छाँयामा परे दीपक बोहोरा

राप्रपा प्रजातान्त्रिकको हलो जोगाउने नेताको सूचीमा दीपक बोहरा पनि हुनुहुन्थ्यो । तर उहाँले पनि हलो जोगाउन सक्नुभएन । धेरैपटक मन्त्री बनिसकेका बोहरा एमालेका उपमहासचिव घनश्याम भुषालसँग पराजित हुनुभयो ।

भुषालले ३२ हजार ८ सय ६६ मत ल्याउँदा बोहराले २४ हजार ४ सय २२ मत मात्रै ल्याउनुभयो । बौद्धिक नेताका रुपमा चिनिएका भुषालका अगाडि बोहोराको केही सीप चलेन ।

सूर्यबहादुरको थापाको विरासत थाम्न सकेनन् सुनिल थापाले

पटकपटक प्रधानमन्त्री बनेका र नेपाली राजनीतिमा धेरैपटक उथलपुथल ल्याएका सूर्यबहादुर थापाका छोरा तथा युएनको जागिर छोडेर राजनीतिमा होमिएका सुनिल थापा पनि संघीय नेपालको पहिलो संसदीय चुनावमा हार्नुभयो ।

राप्रपा प्रजातान्त्रिकको साख जोगाउने नेताका रुपमा हेरिएका नेता सुनिल थापा एमालेका राजेन्द्र राइसँग धनकुटाबाट पराजित हुनुभयो । एमालेका राजेन्द्रकुमार राइले ३७ हजार ३ सय ३३ मत ल्याउँदा उहाँले २६ हजार ८ सय ७४ मत ल्याउनुभयो ।

थापाको भविष्य लिङदेनको हातमा

देश संघीय लोतान्त्रिक गणतन्त्रमा गइसक्दा पनि राजतन्त्र र हिन्दु राष्ट्रका वकालती गरेका कमल थापाको राप्रपा नेपालले २०७० सालको चुनावमा राम्रो मत पायो । २०७० सालको चुनावबाट पाएको मतबाट हौसिएका थापाको राप्रपा भने यो चुनावबाट बढारिएको छ ।

२०६४ सालको चुनावमा मकवानपुर १ बाट हारेका उपप्रधानमन्त्री समेत रहेका थापाले २०७० सालको चुनावमा भने आफू समानुपातिकमा बसेर श्रीमती प्रमिला थापालाई प्रत्यक्षमा उठाउनुभएको थियो । तर उहाँ पनि हार्नुभयो ।

अहिले राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ बाट एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग पराजित हुनुभयो । दाहालको ४० हजार ६ सय ३१ मत पाउँदा कमल थापाले ३४ हजार ६ सय ५८ मत मात्रै पाएर हार्नुभयो । राप्रपाको एउटा सिट त झापा ३ मा राजेन्द्र लिङदेनले जितिसक्नु भएको छ । तर बामको सहयोगमा विजयी भएका लिङदेन जितपछि राप्रपामा बस्ने नबस्ने पक्का नहुँदा राप्रपाको गाई यसपटक संसदमा रहन्छ या रहन्न भन्नेमा आशंका छ ।

मकवानपुर नगएको मारमा परे नारायणकाजी

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीचको भिडन्त पनि यसपल्ट खुब चर्चामा थियो । तर गोरखा २ को यो बहुचर्चित भिडन्तमा नारायणकाजी श्रेष्ठ पराजित हुनुभयो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइलाई जिताउन कांग्रेसले पनि समर्थन गरेको थियो । बाबुरामको ३१ हजार ८ सय ७ मत आउँदा नारायणकाजीको २४ हजार ९ सय ३३ मत मात्रै आयो । गोरखा २ मा बाबुरामलाई छोडेर आफूलाई बोलाएको मकवानपुरमा गएको भए विरोध खतिवडाको भाग्य नारायणकाजीको भागमा पथ्र्यो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Share It

Post Comments
थप विशेष