विशेष ‘चुनावका बेला घरमै ज्यू–ज्यू गर्न आउने नेता चुनावपछि नागरिकलाई बिर्सन्छन्’
Ujyaalo

श्यामशीतल परियार/उज्यालो ।

लमजुङ, मंसिर ५– प्रदेश र प्रतिनिधिसभा चुनावको दिन नजिकिदै जाँदा विभिन्न राजनीतिक दल तथा दलका उम्मेदवारलाई चुनावी प्रचारप्रसार गर्न भ्याइनभ्याई छ ।

 चुनावी प्रचारप्रसारलाई तीव्र पारेका दलले घरदैलो, आमसभा, कोणसभा लगायतका कार्यक्रम गरी उनीहरुले आफ्नो पक्षमा भोट पार्न हरतरहले जुटेका छन् । लमजुङमा विशेष गरी लोकतान्त्रिक गवठबन्धन र वामगठबन्धनबीच चुनावी घम्साघम्सी पर्ने देखिन्छ । उनीहरुले यसअघि आ–आफ्ना पार्टीका शीर्षस्थ नेता जिल्ला भित्र्याएर चुनावी आमसभा गरिसकेका छन् ।

वामगठबन्धनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी आमसभामा निम्त्याएका थियो । यसैगरी, लोकतान्त्रिक गठबन्धनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईरालालाई बोलाएर आमसभा गरेका थिए । शीर्षस्थ नेताहरुले पनि आ–आफ्ना गठबन्धनबाट जिल्लामा उम्मेदवार बनेका नेतालाई जिताएर पठाउन नागरिकलाई आग्रह गरेका छन् ।

यहाँ लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि कांग्रेसका दिलबहादुर घर्ती, प्रदेश सभा ‘क’ मा गर्जबहादुर गुरुङ, ‘ख’ मा कृष्णप्रसाद कोईराला चुनावी मैदानमा होमिनुभएको छ । यसैबीच, एमाले र माओवादी केन्द्रको चुनावी तालमेल अर्थात् वामगठबन्धनबाट प्रतिनिधिसभाका लागि देवप्रसाद गुरुङ, प्रदेशसभा ‘क’ मा धनन्जय दवाडी, ‘ख’ मा पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । अहिले उनीहरु चुनाव प्रचारप्रसारमै व्यस्त छन् । आफूहरुको जीत भएमात्रै जिल्लाको मुहार फेरिने उनीहरुले आ–आफ्नै तर्क र दाबी गर्दै आएका छन् ।

नागरिकलाई चिन्दैनन्

चुनावका बेला भोट माग्न मात्रै नागरिकको घरआँगन धाउने । परिणाम आफ्नो पोल्टामा परेपछि नागरिकलाई चटक्कै भुल्ने राजनीतिक प्रवृत्तिदेखि दिक्क छन्, आम नागरिक । चुनावका बेला विकास र समृद्धिका अनेकन सपना बाँड्छन् । चुनाव जितेर गएपछि नागरिकलाई पछाडि फर्केर समेत हेर्दैनन् । नागरिकलाई चिन्दैनन् । आम नागरिक यस्तै गुनासो गछर्न् ।

‘चुनावका बेला जनताको घरदैलोमा आउँछन्, ज्यू–ज्यू गर्छन्, चुनाव जितेपछि कहिँकतै तिनै नेता भेट्टिँदा नागरिकले नमस्ते गर्दा उनीहरु नमस्ते समेत फर्काउँदैनन्,’ सुन्दरबजार नगरपालिका–६, फेदीकुनाका मुक्तिनाथ अधिकारीले भन्नुभयो, ‘अब त्यस्तो नहोस्, जसले जितेर गए पनि गाउँठाउँको विकास सँगै नागरिकको जीवनस्तर उकासिने काम गरुन्, बल्ल उनीहरु नागरिकको मनमा बस्न सक्छन् ।’

पञ्चायतदेखि बहुदलसम्म आइपुग्दा धेरै पटकको चुनावमा धेरै नेतालाई जिताएर पठाएको अनुभव छ अधिकारीसँग । तर नेताहरु जनजनको मन छुन चुकेको उहाँ बताउनुहुन्छ । चुनाव जितेर जानेले सबैलाई समान व्यवहार गरी विकास र समृद्धिका काममा हातेमालो गर्नुपर्ने उहाँको भनाई छ ।

चाहनाको चाङ

भोट माग्न गाउँगाउँ पुगेका दल तथा दलका उम्मेदवारसँग नागरिकले ठूलो अपेक्षा राखेका छन् । गाउँमा सडक, विद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतको समस्या रहेको र ती समस्या समाधान गरिदिन उम्मेदवारसँग आग्रह गरेका छन् । उनीहरुको समस्या समाधानमा काम गर्ने आश्वासन पनि दिएका छन् नेताहरुले । आफ्नो गाउँठाउँमा सडकको अत्यावश्यक रहेकाले सडक निर्माण गर्नेलाई नै भोट दिने लमजुङ चिती रामचोकबेसीका नागरिकहरुले बताएका छन् ।

बेसीशहर नगरपालिका–११ रामचोकबेसीका नागरिकहरु आपसमा जुटेका छन् । सल्लाह गरेका छन् । गाउँमा सडकको स्तरोन्नती गर्नेलाई भोट दिने उनीहरुले निष्कर्ष समेत निकालेका छन् । ‘रिष्टेबगरदेखि चित्रेसम्मको मोटरबाटो कच्ची छ, धूलोधुँवाले हामीलाई सताएको छ, सडकको स्तरोन्नती गरी यो समस्या समाधान गर्नु आवश्यक छ,’ रामचोकबेसीका डम्मरध्वज सेढाइँले बताउनुभयो ।

 

 

Share It

Post Comments
थप विशेष