विशेष मतगणनाको शतक : प्रतिनिधिसभा सदस्य नम्बर १००
Ujyaalo

काठमाडौं, मंसिर २३ – प्रतिनिधिसभाको १ सय क्षेत्रमा मतगणना सकिएको छ । सयौं नतिजा आउँदा पाल्पा क्षेत्र नम्बर १ बाट दलबहादुर राना विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा जित निकाल्ने ५६ औं सांसद हुनुहुन्छ ।

नेकपा एमालेको पोलिटब्यूरो सदस्य दलबहादुर रानाको जन्म २०१६ सालको असार ५ गते पाल्पाको रामपुर नगरपालिका १ बर्दालकोटमा भएको हो । रानाले रामतुल्सी मावि रामपुरबाट २०३२ सालमा एलएलसी गर्नुभयो ।

२०३५ सालमा सिएमए गरेका दलबहादुरले गाँडाकोट स्वाथ्यचौकी प्रमुख भएर ५ वर्ष काम गर्नुभयो । तर रानालाई पञ्चायत बिरुद्ध लागेको भन्दै जागिरबाट बर्खास्त गरिएको थियो । प्रदेश नम्बर ५ को एमाले सहसंयोजक समेत रहनुभएका राना पहिले देखि नै कम्युनिष्ट राजनीतिमा संलग्न भए पनि २०४६ देखि मात्रै पार्टीको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

उहाँले २०४६ सालदेखि दुई कार्यकाल एमाले जिल्ला सचिव भएर काम गर्नुभयो । जिल्ला सचिव हुँदै २०४८ सालमा पाल्पा क्षेत्र नम्बर १ बाट संसदीय चुनावमा टिकट पाए पनि राना पराजित हुनुभएको थियो ।

एक वर्ष नबित्दै २०४९ सालमा जिल्ला विकास समिति पाल्पाको उम्मेदवार भएका राना त्यसमा पनि पराजित हुनुभयो । २०५१ सालको चुनावमा विजयी भएका राना २०५६ सालको चुनावमा तत्कालीन मालेबाट उम्मेदवार हुनुभएको थियो । त्यसमा भने उहाँ पराजित हुनुभयो ।

संसदमा पराजित भए पनि पार्टीभित्र भने उहाँले पछि फर्किनु परेन । २०५९ सालमा उहाँ एमालेको केन्द्रीय सदस्य हुनुभयो । २०६४ सालको चुनावमा एमालेबाटै सभासद् भएका राना २०७० सालमा भूमिसुधार मन्त्री हुनुभएको थियो ।

 

 

Share It

Post Comments
थप विशेष