विशेष कांग्रेस किन हार्‍यो ?
Ujyaalo

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, मंसिर २४ – मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा चुनावको मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसले नराम्रोसँग हार्ने निश्चित भइसकेको छ । अहिलेसम्म भएको मगणनाको परिणामअनुसार कांग्रेसले प्रतिनिधिसभाको एक सय ६५ सिटमध्ये २५ भन्दा पनि कम क्षेत्रमा जित्ने पक्का भइसकेको छ ।

कांग्रेसको गढ मानिएको क्षेत्र र प्रभावशाली नेतासमेत चुनावी मैदानमा पछारिएका छन् । यो चुनावबाट नेपाली कांग्रेस इतिहासकै सार्वाधिक अलोकप्रिय र कमजोर पार्टीका रुपमा स्थापित भएको छ ।

२००७ सालको जनक्रान्तिदेखि निरन्तर मतदाताको विश्वास पाउँदै आएको शक्तिशाली कांग्रेस अस्तित्व मात्र जोगाउन कठिन अवस्थामा पुगेको छ । कात्तिक २८ गते विघटन भएको रुपान्तरित संसदमा कांग्रेस पहिलो पार्टीका रुपमा थियो ।

जसका कारणले उ अहिले पनि सरकारको नेतृत्व गरिरहेको छ । तर, कांग्रेस अब ५ वर्ष सत्तातिर फर्केर हेर्न नसक्ने गरी तेस्रो दलमा खुम्चने अवस्थामा पुग्दैछ । चुनावी परिणाम सार्वजनिक हुने क्रम अन्तिमतिर पुगिरहँदा कांग्रेसले चुनाव हार्नुका कारणहरु पनि खोजी र विश्लेषण हुन थालेको छ । के–के छन् त कांग्रेसका हारका कारण ?

कमजोर एजेण्डा

कांग्रेसले चुनाव हार्नुको मुख्य कारण हो एजेण्डा । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिंदै गर्दा कांग्रेससँग मतदातालाई आकर्षित गर्ने कुनै पनि एजेण्डा अघि सार्न सकेन । वाम गठबन्धनले राजनीतिक स्थायित्व, आर्थिक विकास, राष्ट्रियता जस्ता विषयलाई जोडतोडका साथ उठाइरहँदा कांग्रेस भने कम्युनिष्टले जितेमा अधिनायकवाद आउने फितलो नारा लगाइरहेको थियो ।

राजनीतिक स्थायित्व र आर्थिक संवृद्धि दिने वाम गठबन्धनको प्रतिबद्धता सामु कांग्रेसको अधिनायकवाद आउने तर्कलाई मतदाताले पत्याएनन् । २०४८ पछि लगातार प्रतिस्पर्धामा रहेको एमाले र शान्ति सम्झौतापछि प्रतिस्पर्धात्मक राजनीनिमा होमिएको माओवादीलाई भोट दिए अधिनायवाद आउने कांग्रेसको तर्क आफैमा कमजोर थियो ।

नागरिकले खोजेको स्थायित्व र विकासका एजेण्डा दिइ रहेको एमाले माओवादीको सामु कांग्रेसले आफूलाई लोकतन्त्रको पर्यायका रुपमा मात्र प्रस्तुत गर्नु कमजोर चुनावी एजेण्डा थियो । अर्कोतर्फ नाकाबन्दीकै बेलादेखि राष्ट्रियताको पक्षमा एमालेले चर्को आवाज उठाए पनि त्यस विषयमा कांग्रेस सधैं अनिर्णित रह्यो ।

नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नु र त्यसपछि पनि राष्ट्रियताको सवालमा प्रतिस्पर्धी पार्टी जसरी प्रस्तुत नहुनुले कांग्रेसप्रति मतदाता आकर्षित भएनन् । २००७ सालमा राणा फालेको, २०४६ मा बहुदल ल्याएको र २०६२/६३ को जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको सदावार रटानले पनि मतदातालाई रुखमा भोट हाल्ने जाँगर चलेन । अर्कोतर्फ कांग्रेसले पटकपटक बहुमत पाउँदा अवसर खेर फालेकाले यसपटक हामीलाई बहुमत दिनुस् भन्ने वाम गठबन्धनको आग्रहलाई मतदाताले स्वीकार गरेको पाइयो ।

नेतृत्व

पार्टी सभापति शेरबहादुर देउवा पटकपटक परीक्षण भइसकेका नेता हुन् । उहाँप्रति आम मतदाताको त कुरै छाडौं कांग्रेसका कार्यकर्ताको पनि आकर्षण छैन । उहाँबाट नयाँ केही हुँदैन भन्ने सोचाइ विकास भइरहेका बेला चुनावकै मुखमा ‘ज्योतिषीले मलाई सातपटक प्रधानमन्त्री बन्छस् भनेका छन्’ जस्ता अभिव्यक्तिले सिंगो कांग्रेसप्रतिको आमधारणा नकारात्मक बन्न पुग्यो ।

चारपटक प्रधानमन्त्री भइसक्दासमेत फेरि मैं प्रधानमन्त्री हुँ भन्दै हिँड्नु कांग्रेस नेतृत्वको भूल थियो । चुनावी अभियानलाई पनि कांग्रेसले गतिलो गरी परिचालन गर्न सकेन ।

सभापति देउवाबाहेक अरु कोही पनि नेता आफ्नो क्षेत्र छाडेर बाहिर निस्केनन् । वाम गठबन्धनको भयले आफू कसरी सुरक्षित हुने भन्नेमै कांग्रेसका नेताहरुको ध्यान सीमित भयो । चुनावका लागि देशव्यापी रणनीति बनाउन कांग्रेस चुक्यो । प्रचारप्रसार र कार्यकर्ता परिचालन पनि वाम गठबन्धनको तुलनामा निक्कै फितलो रह्यो ।

सरकारका पछिल्ला निर्णय

चुनावलाई प्रभावित पार्न देउवा नेतृत्वको सरकारले पछिल्लो समय जे जति ग¥यो ति सबै उल्टो भइदियो । ६४ सदस्यीय मन्त्रीमण्डल बनाउनु, आचारसंहिता विपरीत सरुवा बढुवा गर्नु, गृहमन्त्रालयमार्फत कार्यकर्तालाई करोडौं रुपैयाँ वितरण जस्ता सरकारका विवादास्पद निर्णयले देउवा, कांग्रेस र सरकारको चर्को आलोचना भइरह्यो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई विना कारण महाअभियोग लगाएर लोरालो लागेको कांग्रेसको अलोकप्रियता घट्नुको सट्टा चुनावी सरकारका कारण झन बढ्यो ।

वाम गठबन्धन विरुद्ध बनेन रणनीति

एमाले र माओवादी पार्टी एकता नै गर्ने बलियो रणनीति लिएर चुनावी मैदानमा उत्रदा कांग्रेस भने अलमलमै रुमलियो । वाम गठबन्धन बनेपछि काउन्टरमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास छलफलमै सीमित बन्यो । राप्रपालाई सात सिट दिएर देशव्यापी सहकार्य गरेपनि उसका कारणले कांग्रेसको पक्षमा भोट थपिएको अनुभूति भएन ।

मधेस केन्द्रित दल राजपा र संघीय फोरमलाई आफ्नो छातामुनी राख्ने प्रयास दुई नम्बर प्रदेशको ३२ वटा क्षेत्रको सिट बाँडफाँड लिएर मिल्न सकेन । मध्य दसैँमा आफूसँगै रहेको माओवादीले एमालेसँग गला मिलाउँदा झस्केको कांग्रेस चुनाव अवधिभर रक्षात्मक अवस्थामै रह्यो । उसले वाम गठबन्धनविरुद्ध ठोस रणनीति नै बनाउन सकेन ।

 

Share It

Post Comments
थप विशेष