विशेष २३ वर्षदेखि सल्यानमा कांग्रेस निल
Ujyaalo

पुरुषोत्तम गिरी/उज्यालो ।

सल्यान, मंसिर २५ –यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा सल्यान जिल्लाका तीनवटै क्षेत्रमा वाम गठवन्धनको जितपछि नेपाली कांग्रेस जिल्लामा २३ वर्षसम्म निल बन्न पुगेको छ । नेपाली कांग्रेसले सल्यान जिल्लामा २०५१ सालको चुनावपछि हालसम्म भएका कुनैपनि संसदीय चुनाव जित्न सकेको छैन ।

२०५१ सालमा सल्यान क्षेत्र नम्वर १ बाट जितेर शिक्षा राज्यमन्त्री बनेका नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाह माओवादी स्थायी समिति सदस्य तथा विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतसँग प्रतिनिधिसभा सदस्य चुनावमा सल्यानबाट ११ हजार १ सय ३० मतान्तरले पराजित बनेका छन् । बस्नेतले ४०८९७ मत प्राप्त गरे भने शाहले २९ हजार ७ सय ६७ मत प्राप्त गरे । यस पटक विजयी बनेपछि बस्नेतले भने लगातार तीन सिट जित निकाल्दै जितको ह्याट्रिक गरेका छन् । बस्नेत यसअघि सल्यान क्षेत्र नम्वर १ बाट २०७० र २०६४ सालमा नेकपा माओवादी केन्द्रबाटै विजयी बनेका थिए ।

दुईवटा क्षेत्र भएको सल्यान जिल्लामा २०७० मा क्षेत्र नम्वर २ मा नेकपा एमालेले जितेको थियो भने २०६४ सालमा नेकपा माओवादी केन्द्रले जितेको थियो । यस्तै २०५६ सालमा भएको चुनावमा क्षेत्र नम्वर १ नेकपा एमाले र क्षेत्र नम्वर २ राप्रपाले जितेका थिए ।

२३ वर्षको यो अवधिमा वाम गठवन्धनका दुई हस्ती टेकबहादुर बस्नेत र प्रकाश ज्वालाले एकै पटक जितमा ह्याट्रिक समेत गरेका छन् । तीनै क्षेत्रमा वा गठवन्धनका उमेदवारले जितेको सल्यानमा प्रदेश क मा गुलाव जंग शाह र ख मा ज्वाला विजयी बन्नुभयो ।

को हुन बिना विभागीय मन्त्री बस्नेत ?

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा बिना विभागीय मन्त्री टेकबहादुर बस्नेतको जन्म २०२२ सालको असोज १ गते सल्यानको कोटमौलामा भएको हो । उहाँका बाबुको नाम खिमलाल बस्नेत र आमाको नाम टीकाकुमारी बस्नेत हो । बस्नेतले व्यवस्थापन संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ ।

यसैगरी उहाँले प्राविधिक शिक्षा तर्फ जेटिए पनि अध्ययन गर्नु भएको छ । २०४० सालदेखि ४२ सालसम्म शिक्षण पेशा गरेका बस्नेतले २०४३ देखि ५० सम्म जेटिएको रुपमा सरकारी जागिर समेत गर्नुभयो ।

यसअघि २०६४ र २०७० सालको चुनावमा सल्यान क्षेत्र नं १ बाट विजयी बस्नेत २०७४ सालमै सामान्य प्रशासन मन्त्री समेत बन्नु भएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई जिम्मेवारी मुक्त बनाएपछि उहाँ पनि बिना विभागीय बन्नु भएको हो ।

 

Share It

Post Comments
थप विशेष