विशेष बिना मगर दोब्बर मतान्तरले विजयी
Ujyaalo

महेन्द्रनगर, मंसिर २५ –कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी हुनुभएको छ ।

बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाउनुभएको छ । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनमा समेत उमेदवार रहनु भएकी बिना मगर कांग्रेसका दिवानसिंह विष्टसँग पराजित हुनुभएको थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचित भएर पुग्ने पहिलो महिला बन्नु भएको छ ।

साथै, यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात ७ नम्बर प्रदेशबाट निर्वाचित हुने एक मात्र महिला बन्ने देखिएको छ ।

बिना मगर विजयी भएको क्षेत्रबाट यसाघि प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । कञ्चनपुरको १ नम्बर क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ ।

Share It

Post Comments
थप विशेष