विशेष पार्टीभत्रको असन्तुष्टि मिलाउन नसक्दा हारेँ : आरजु राणा देउवा
Ujyaalo

नवराज पनेरू/उज्यालो ।

धनगढी, मंसिर २५ – कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी उम्मेदवार डा. आरजु राणाले पार्टीभत्रको असन्तुष्टि मिलाउन नसक्दा पराजित भएको बताउनुभएको छ । सोमबार धनगढीमा रहेको आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै राणाले पार्टीकै नेता तथा कार्यकर्ताले असहयोग गरेकोले नतिजा आफ्नो पक्षमा नआएको बताउनुभएको हो ।

पार्टीभित्रको आन्तरिक विवादले गर्दा नेता–कार्यकर्ताले सहयोग नगरेको र आफूहरुले प्रयास गर्न पनि मिलाउन नसकेको बताउँदै कांग्रेस नेतृ राणाले कैलालीमा रहेको जातीय र क्षेत्रीय नाराले पनि समस्या पारेको गुनासो गर्नुभयो ।

कैलालीमा रहेका अरु जिल्लाको मतदाताको नाराले कांग्रेसलाई समस्या भइरहेको भन्दै यसलाई हटाउन आवश्यक रहेकोमा जोड दिनुभयो । कैलाली क्षेत्र नम्बर ५ मा रहेका चौधरी थारु र राना थारु समुदायको ‘सेन्टीमेन्ट क्याच’ गर्न नसक्नु आफ्नो हारको कारण भएको नेतृ राणाको भनाई थियो । उहाँले दुई पार्टी मिल्दा पनि आफूले धेरै मत पाएको टिप्पणी गर्दै उहाँले नयाँ मतदातालाई आफ्नो पक्षमा पार्न नसकेर पनि जितबाट चुकेको दाबी गर्नुभयो ।

नेतृ राणाले चुनावमा सहभागी भएका मतदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । उहाले आगामी दिनमा धनगढी बसेर यसक्षेत्रको विकासका लागि काम गर्ने आश्वासन दिनुभयो । राणाले प्रतिनिधिसभा सदस्य चुनावमा विजयी नेकपा एमालेका नेता नारदमुनी रानालाई मन्त्री दिनुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

 

Share It

Post Comments
थप विशेष