विशेष भोट नहाल्ने तिङलाका बासिन्दाको माग पूरा गर्ने प्रतिनिधिको प्रतिबद्धता
Ujyaalo

ओखलढुंगा, मंसिर २५ – ‘नो भोट’ नारासहित स्थानीय तह र प्रदेश, प्रतिनिधिसभा चुनाव बहिष्कार गरेका सोलुखुम्बुको तिङला बासिन्दासँग नवनिर्वाचित प्रतिनिधिहरुले माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले अन्तरक्रिया गरेर माग पूरा गराउने वचन दिएका हुन् ।

अन्तर्क्रियामा तिङला बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधिसभाका लागि निर्वाचित हेमकुमार राई र प्रदेशसभा सदस्यहरु बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत सहभागी हुनुहुन्थ्यो । नवनिर्वाचित पदाधिकारीले तिङलाको समस्या समाधान गर्न नयाँ बन्ने सरकारमा सोलुखुम्बुको पहिलो माग रहने बताए ।

‘उहाँहरुको समस्या समाधान हुने र न्याय मिल्ने गरी नै हामी पहल गर्नेछौँ ।’ प्रतिनिधिसभा सदस्य हेमकुमार राईले भन्नुभयो ‘तिङलाको बिद्रोहको हामी सम्मान गछौँ ।’ तिङला बासिन्दाले समेत आफ्ना माग पूरा भएमा आगामी चुनावमा सहभागी हुने बताएका छन् ।

कांग्रेसको पकड क्षेत्र मानिने तिङलाले चुनाव बहिष्कार गरेपछि स्थानीय तहको चुनावमा समेत एमाले उम्मेदवार विजयी भएका थिए । प्रतिनिधि र प्रदेशसभामा पनि यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

 

Share It

Post Comments
थप विशेष