विशेष पूर्व गृहमन्त्री, सहकारी मन्त्री र राज्यमन्त्रीलाई पाखा लगाउँदै सुर्खेत भयो वाममय
Ujyaalo

प्रकाश पन्त/उज्यालो ।

सुर्खेत, मंसिर २५ – २०४८ यताका अधिकांश चुनावमा सुर्खेत कांग्रेसको गढ रह्यो । २०४८ सालको प्रतिनिधिसभा चुनावमा २ वटै निर्वाचन कांग्रेसले जितेको थियो ।

त्यसपछि २०४९ सालको स्थानीय निकायको चुनावमा पनि सुर्खेतका बहुसंख्यक गाविसहरु कांग्रेसले जितेको थियो । २०५१ सालमा भएको मध्यावधि चुनावमा सुर्खेतका ३ वटा निर्वाचन क्षेत्र मध्ये २ वटामा कांग्रेसले जितेको थियो । त्यस वेला क्षेत्र नं. १ र ३ मा कांग्रेस र क्षेत्र नं. २ मा एमालेले जितेको थियो ।

२०५४ सालको स्थानीय निकायको चुनावमा धेरैजसो गाविसमा एमालेले जितेपनि २०५६ सालमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसले ३ वटै क्षेत्रमा क्लिन स्वीप गरेको थियो ।

२०६४ सालको संविधानसभा चुनावमा हारेपनि २०७० सालमा भएको दोस्रो संविधान सभा चुनावमा कांग्रेसले ३ वटै क्षेत्र कब्जा गर्दै गुमेको साख फर्काएको थियो ।

त्यो जितलाई निरन्तरता दिँदै गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा पनि कांग्रेसले ९ मा ६ वटा स्थानीय तह जित्दै आफनो वर्चस्व कायम राख्न सफल भएको थियो ।

तर, यसपालीको चुनावमा भने कांग्रेसले बाम गठवन्धनसँग नराम्रोसँग हारेको छ । वाम गठवन्धनले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ वटै सिट जित्दै क्लिन स्वीप गरेको छ ।

एमाले र माओवादी मिलेपछि आफनो साख जोगाउन कांग्रेसलाई निक्कै हम्मे पर्ने धेरैको अनुमान थियो । वामगठबन्धनले सवै सिट जितेर सुर्खेतलाई बाममय जिल्ला वनाएका छन । यसपाली सुर्खेतमा २ लाख ४ हजार ५ सय ७५ जना मतदाता थिए ।
क्षेत्र नं. १ मा १ लाख १ हजार ६ सय ३६ र क्षेत्र न २ मा १ लाख २ हजार ९ सय ३८ जना मतदाता छन ।

दुवै क्षेत्रमा करिव ७२ हजार मत खसेको थियो । गत वैशाख महिनामा भएको स्थानीय तहको चुनावमा उम्मेदवारले पाएको मतको आधारमा लोकतान्त्रिक गठबन्धनभन्दा वामगठबन्धन १५ हजार ७ सय ८९ मतले अघि थियो ।

तर पछिल्लो पटक सुर्खेतमा थपिएका २१ हजार ७ सय ४२ जना नयाँ मतदाताले नै चुनावमा निर्णायक हुने देखिएको थियो ।थपिएका नयाँ मतदाता र आफनो पालामा भएको विकास निर्माणले गर्दा वाम गठवन्धनको मत वढी भएपनि जनताले जिताउनेमा कांग्रेसका उम्मेदवारहरु ढुक्क थिए ।

तर परिणाम भने उल्टो आएको छ । देशैभरी चलेको वाम गठवन्धनको लहरलाई कांग्रेसले सुर्खेतमा पनि रोक्न सकेन । त्यसैले यसपाली हारको कल्पनै नगरेका उम्मेदवारले हारे भने जितको कल्पनै नगरेका कतिपयले जिते ।

यो चुनावमा प्रतिनिधिसभाको २ र प्रदेश सभाको २ सिट एमालेले जित्यो भने प्रदेशसभाका २ सिट माओवादी केन्द्रले जित्यो । एमालेको तर्फवाट प्रतिनिधि सभातर्फ क्षेत्र नं. १ मा पार्टी अध्यक्ष धुव्र्रकुमार शाही र २ मा पूर्व अध्यक्ष नवराज रावत तथा प्रदेश सभातर्फ क्षेत्र नं. १ को ख वाट खड्कबहादुर खत्री र क्षेत्र नं. २ को क बाट पूर्र्वमन्त्री यामलाल कँडेलले चुनाव जित्नु भएको छ ।

यस्तै, माओवादी केन्द्रका ठम्मर बिष्ट क्षेत्र नं. १ को क वाट र बिन्दमान विष्ट क्षेत्र नं. २ को ख बाट निर्वाचित भएका छन ।  वाम गठवन्धनको लहरमा परी कांग्रेसका प्रभावशाली नेताहरुले हारेका छन ।

यसपटक पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, पूर्व सहकारी मन्त्री हृदयराम थानी र संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले चुनाव हार्नु भएको छ ।

Share It

Post Comments
थप विशेष