विशेष ‘चुनाव र नेता त पटकपटक आए, तर हाम्रो धारामा पानी कहिल्यै आएन’
Ujyaalo

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, मंसिर ९ – बर्खामा धमिलो हुन्छ, हिउँदमा पानी सुकेर ईनारको तल पुग्छ, धमिलो भए पनि यही पानी नखाई भएन, हिउँदमा एक गाग्री पानीको लागि लाइन लाग्नु पर्छ ।

मध्यविन्दु –१, सेतापानीकी सीमा सापकोेटाले नजिकै रहेको इनार देखाउँदै भन्नुभयो – चुनाव आउदा घर–घरमा धारा आजै आउँछ कि जस्तो गरी नेताले भन्छन् तर वर्षौंदेखिको समस्या जस्ताको त्यस्तै छ ।

नवलपरासीको सेतापानीका बासिन्दा खानेपानीको सुविधा नहुँदा धमिलो पानी खान बाध्य छन् । कहिले घण्टौं लगाएर एक गाग्री पानीका लागि इनारमा लाइन लाग्नु पर्ने बाध्यता छ ।

सेतापानीमा झण्डै ६ सय घर परिवार बस्दै आएका छन् । सबैको खानेपानीको श्रोत भने गाउँमा भएका ३/४ वटा ईनार मात्रै हुन । ईनारमा पानी सुक्दा गाउँदेखि करिब १ घण्टा को दूरीमा रहेको जंगल छेउको मुलको पानी खोज्दै जानुपर्ने अवस्था रहेको छ ।

‘बिहान साह्रै भिड हुन्छ पानी निकाल्न, कहिलेकाहीँ राति नसुतेर १२ /१ बजे पानी निकाल्न उठनु पर्छ, के गर्नु चुनाव र नेता त पटक पटक आए, हाम्रो धारामा पानी भने कहिल्यै आएन’ सीमा सापकोटाले भन्नुभयो । टोल भरिका स्थानीय यही इनारको पानीमा निर्भर छन् । गाउँमा रहेका इनारमा वर्षाको समयमा पानी हुने भए पनि भेलका कारण धमिलो हुन्छ र खडेरीको समयमा तीनै इनार सुक्दा थप समस्या झेल्न बाध्य छन् ।

‘चुनाव आउँदा नेताको आश्वासन त नआएको कहाँ हो र घरघरमा पाइपबाट पानी ल्याइदिन्छाैँ, बाटोघाटो राम्रो बनाइदिन्छौ भन्छन् । तर चुनाव सकिएपछि नेता पनि हराउँछन्, पानीको कुरा पनि भुल्छन् । विकासको कुरै गर्दैनन्’, कावासोती –१७ का अशोक महतोले भन्नुभयो ।

‘वर्षामा इनारको पानी मात्रै हैन, मूहानको पानी पनि उस्तै हो, बिरामी भइन्छ भन्ने थाहा पाएर पनि धमिलो पानी पिउनुको विकल्प छैन’, महतोले भन्नुभयो । ‘यस अघिको चुनावमा आश्वासनमा परियो भोट हालियो, अब जसले पानी ल्याउने लिखित प्रतिबद्धता गर्छ उसैलाई भोट दिने हो’, उहाँले भन्नुभयो ।

पानी नहुँदा नुहाउन, कपडा धुन झनै समस्या हुने गरेको स्थानीयबासिन्दा विष्णु आलेले गुनासो गर्नुभयो । ‘कपडा मैलो भए पनि धुन पानी छैन, कि महिलो कपडा नै लगाउने हो, हैन भने कपडा धुन खोलामा जानुपर्छ । हप्तामा एक बोरा कपडा बनाएर खोलामा गयो अनि धोयो, नुहाउन पनि उस्तै समस्या छ’, आलेले भन्नुभयो, ‘पानीको समस्या हँुदा हरियो सागसब्जी, तरकारी उब्जाउन पनि समस्या छ, किनेरै खानुपर्ने अवस्था रहेको छ, पानी भए तरकारी आफै लगाइन्थ्यो ।’

गाउँदेखि पर रहेको मूलको पानीलाई व्यवस्थापन गरी गाउँमा ल्याउछौँ भनेर यसअघिका चुनावमा नेताले आश्वासन दिए पनि अझैसम्म नेताले बोेलेका काम पूरा गरेका छैनन् ।

‘चुनाव आउँदा गाउँमा नेता पनि आए, पानी पनि आएजस्तै भाषण गरे, चुनावपछि नेता पनि गए पानी पनि गयो । यसपाली जसले विश्वासिलो तरिकाले पानी ल्याउने कुरा गर्छ उसैलाई भोट दिने निधो गरेको छु’ आलेले बताउनुभयो ।

 

 

Share It

Post Comments
थप विशेष