विशेष केपी ओलीले गाई जोगाउँदा, प्रचण्डले हलो हराइदिए
Ujyaalo

काठमाडौं, मंसिर २५ – यसपटकको चुनावमा निकै रमाइला दृष्यहरु देखिए । केन्द्रीय तहमा एमाले, माओवादी जनमोर्चा, नेपाल परिवार दल लगायत पार्टीको वाम गठबन्धन बनेको थियो । यस्तै नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका दलको लोकतान्त्रिक गठबन्धन थियो । यसपटकको चुनावमा वाम गठबन्धनको राम्रो मत आउने तर राप्रपा र राप्रपा प्रजातान्त्रिकले १/१ सिट पनि जित्छन् कि जित्दैनन भन्ने दोधार थियो । सँगै राप्रपा र राप्रपा प्रजातान्त्रिक संसदमा अस्तित्वको लडाइँमा थिए ।

राष्ट्रिय दलको हैसियत पाउन प्रत्यक्षमा कम्तिमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्थाका कारण दुवै राप्रपा राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका थिए । त्यस्तो अवस्थामा प्रत्यक्षमा कम्तिमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउन दुवै पार्टीले पवित्र अपवित्र दुवै प्रयास गरे ।

देशैभरि राप्रपा र कांग्रेस एकातिर अनि माओवादी र एमाले अर्कोतिर थिए । तर केही ठाउँमा भने ठ्याक्कै उल्टो गठबन्धन भयो । झापा ३ मा भने एकाएक अनौठो गठबन्धन बन्यो, जहाँ कांग्रेस र राप्रपा नै एकअर्काका प्रतिस्पर्धी बने । अन्य ठाउँमा विपक्षी बनेको राप्रपालाई झापा ३ मा सघाउने र उम्मेदवारी नदिने निर्णय माओवादी र एमालेले गरे । देशका अन्य चुनावी सभामा राप्रपालाई गाली गर्ने ओलीले झापा ३ मा भने राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनको प्रसंशा गर्दै भोट माग्नुभयो ।

एमाले र माओवादीको समर्थनमा झापा ३ मा राप्रपाका राजेन्द्र लिङदेनले कांग्रेसका कृष्ण सिटौलालाई १३ हजार भन्दा धेरै मतान्तरले पराजित गर्नुभयो । प्रत्यक्षमा १ सिट पनि नजितेपछि संसदबाट राप्रपा प्रजातान्त्रिको अस्तित्व हराइसकेको छ तर एमाले र माओवादीको समर्थनमा प्रत्यक्षमा १ सिट जितेकोले राप्रपाको भने सम्भावना कायमै छ ।

देशैभरि राप्रपाको गाई हराउँदा झापामा सूर्य र हँसिया हथौडाको सहयोगमा गाईले बाजी मा¥यो । राप्रपाका नेता लिङ्देनलाई जिताउन सबैभन्दा महत्वपूर्ण भूमिका एमाले अध्यक्ष केपी शर्मा ओलीको थियो । यदी एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यतिधेरै मेहेनेत गर्दैनथे भने राजेन्द्र लिङ्देनको जित सम्भव थिएन ।

वाम गठबन्धनका केपी ओलीले राप्रपाको गाई जोगाइदिँदा वाम गठबन्धनकै पुष्पकमल दाहाल प्रचण्डले राप्रपा प्रजातान्त्रिकको हलोको अस्तित्व समाप्त पारिदिनुभयो । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, वरिष्ठ नेता सुनिल थापा लगायतले हार्दा चितवनबाट विक्रम पाण्डेले संसदमा हलोको अस्तित्व बाँकी राख्लान कि भन्ने आशा थियो ।

तर चितवन ३ मा प्रचण्डले विक्रम पाण्डेलाई हराएपछि राष्ट्रिय दल हुने राप्रपाको अन्तिम सपना टुटेको छ । पटक पटक निर्वाचन क्षेत्र परिवर्तन गर्ने र चितवनको बाँदरमुढे घटनाले प्रचण्डलाई चुनाव जित्न गाह्रो हुने आँकलन गरिए पनि विक्रम पाण्डेलाई झण्डै १० हजार मतान्तरले विजयी हुदाँ संसदमा राप्रपा प्रजातान्त्रिको अस्तित्व समाप्त भएको छ ।

Share It

Post Comments
थप विशेष