विशेष राजपाका ६ का ६ नै अध्यक्षले जिते
Ujyaalo

काठमाडौं, मंसिर २५ – राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका ६ सदस्य नै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ७० सालको चुनावमा छुट्टाछुट्टै दलका रुपमा चुनाव लड्दा तराई मधेस केन्द्रित दलका ५ जना प्रमुख नै पराजित बनेका थिए । तर अहिले ६ दल एक भएर चुनाव लड्दा ६ जना अध्यक्ष नै विजयी बने ।

संविधानसभाबाट जारी भएको संविधानप्रति असन्तुष्ट रहेका मधेसी केन्द्रित दल एकीकृत बनेर राजपा बनेको हो । संविधानप्रति असन्तुष्ट रहेका यी ६ दल एक भएर आन्दोलनमा लागे । आन्दोलनलाई समर्थन गर्दै भारतले नेपालमा नाकाबन्दी समेत गरेको थियो ।

एक भएर आन्दोलन चर्काउन सफल भएका यी ६ दलले पार्टी एकीकरण गर्दै पहिलो पल्ट संसदीय चुनाव लडे । जसमा ६ जना अध्यक्ष नै विजयी बनेका हुन् । ६ अध्यक्ष मध्ये महिन्द्र राय यादवले मात्र ७० सालको चुनाव जित्नुभएको थियो । यी ६ अध्यक्षलाई जिताउन तराई मधेसबाटै उदाएको अर्को दल संघीय समाजवादी फोरम नेपालको साथ महत्वपूर्ण रह्यो ।

ठाकुरलाई महोत्तरी फाप्यो

यो पल्टको चुनावमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर महोत्तरी ३ बाट र शरतसिंह भण्डारी महोत्तरी २ बाट निर्वाचित हुनुभयो । नेपाली कांग्रेसकोसमेत समर्थन पाएका ठाकुरले २७ हजार ५ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका विजयकुमार चौधरीले ८ हजार ६ सय ७६ मत ल्याउनुभयो ।

राजनीतिक थलोका रुपमा लामो समय सर्लाहीमा बिताएका ठाकुरले निरन्तरको पराजयपछि यो चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गर्नु भएको थियो । २०६४ र २०७० सालको चुनावमा उहाँ सर्लाही ६ बाट पराजित हुनु भएको थियो । यो पल्ट निर्वाचन क्षेत्र परिवर्तन गरेका उहाँलाई महोत्तरी फाप्यो ।

यस्तै भण्डारीले नेपाली कांग्रेसकी किरण यादवलाई पराजित गर्नुभयो । भण्डारीको ३० हजार ७ सय ७२ मत आयो भने यादवले १३ हजार ९ सय ७४ मत ल्याउनुभयो । २०६४ सालको चुनावमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट चुनाव जितेका भण्डारी ७० सालको चुनावमा भने यसै क्षेत्रमा पराजित हुनुभएको थियो ।

 निधिको भन्दा महतोको २ हजार ९ सय १४ बढी मत

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो धनुषामा विजयी हुनुभयो । उहाँले कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्नुभयो । महतोले ३० हजार ७ सय ४२ र निधिले २७ हजार ८ सय २८ मत ल्याउनुभयो । २०६४ सालका संविधानसभा चुनावमा सर्लाहीबाट जितेका महतो २०७० सालमा भने सिरहा ४ मा पराजित हुनुभएको थियो । यो पटक सर्लाहीमा जित निश्चित नभएपछि उहाँ धनुषा ३ मा पुग्नुभएको थियो ।

महतोले सर्लाही छाडे पनि सर्लाहीबाट यो चुनावमा राजपाका अर्का अध्यक्ष महिन्द्र राय यादव सांसद चुनिनुभयो । सर्लाही क्षेत्र नम्बर २ मा २९ हजार १ सय ९१ मत पाएका उहाँले नेपाली कांग्रेसका जंगीलाल रायलाई पछि पार्नुभयो । रायले १८ हजार ९ सय ७६ मत पाउनुभयो । महिन्द्र रायले २०२० सालको चुनाव पनि जित्नु भएको थियो ।

यसैगरी अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा पनि यो चुनावमा निर्वाचित हुनुभएको छ । ७० सालको चुनावमा रौतहट १ मा हारेका झा अहिले रौतहट १ बाटै सांसद चयन हुनुभयो । उहाँले नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई पछि पार्नुभयो । झाले २१ हजार ८५ मत पाउनुभयो भने यादवको १५ हजार ४ सय ८४ मत आयो ।

राजपाका अर्का अध्यक्ष राजकिशोर यादव सिराहा क्षेत्र नम्बर ४ बाट संसदमा चुनिनुभयो । उहाँले नेकपा माओवादी केन्द्रका अजयशंकर नायकलाई ४६ सय मतान्तरले पराजित गर्नुभयो । मतगणनाको सुरुवाती क्रममा नायकसँग पछि परेका यादवको २२ हजार १ सय ४४ मत आयो । नायकले भने १७ हजार ५ सय ७५ मत पाउनुभयो । २०७० सालको चुनावमा नेपाली कांग्रेसका गणेश मण्डलसँग पराजित हुनुभएको थियो ।

मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष बनेका यादवले ७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फबाट श्रीमतिलाई सभासद बनाउनुभएको थियो । जुन निर्णयले उहाँको पार्टी भित्रै आलोचना भएको थियो ।

 

 

Share It

Post Comments
थप विशेष