विशेष चुनाव हारेर सरकार छाड्ने बेलामा पनि कमल थापाको जोड बलमा राजनीतिक नियुक्त
Ujyaalo

काठमाडौं, मंसिर २० – चुनावको नयाँ नतिजा आइसकेपछि कामचलाउ बनेको सरकारले केही विवादित निर्णय गरेको छ । त्यसमध्येको एउटा निर्णय थियो ‘चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त’ ।

निकिता चलचित्र निर्माता तथा गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । त्यो भन्दा पनि बुझ्नैपर्ने कुरा उद्धव पौडेल कमल थापा नेतृत्वको राप्रपाका नेता हुन् ।

यसअघि कांग्रेसको कोटाबाट अध्यक्ष बनेका राजकुमार राईको कार्यकाल सकिएपछि विकास बोर्ड नेतृत्व बिहिन थियो । यही मौकामा राप्रपा नेता पौडेलले कमल थापालाई ‘कन्भिन्स’ गरेर छोरीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेर चौका हाने ।

मकवानपुरबाट चुनाव हारेपछि ५ वर्षलाई आराम पाएका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापालाई जाँदाजाँदै कार्यकर्ताका लागि फाइदा पुग्ने काम गर्नु थियो र विश्वासका पात्र पौडेलकी छोरीलाई बोर्डमा नियुक्त गर्न सफल भए ।

सोमबार बसेको मन्त्री परिषदको बैठकमा थापाकै प्रस्तावमा निकिता बोर्ड अध्यक्ष नियुक्त भएको सरकारका एक मन्त्रीले जानकारी दिए । जुन निर्णयलाई सरकारका प्रवक्ताले सार्वजनिक नगरी लुकाएका थिए ।

तर वाम गठबन्धनले बहुमत पाइसकेर सरकार बनाउन बाँकी रहेका बेला यसअघिदेखि विवादरहित निकिता कति दिन बोर्ड प्रमुख बन्ने हुन ? त्यो भने वाम सरकार बनेको केही दिन र उसका सुरुवाती निर्णय कुर्नुपर्नेछ । किन की वाम गठबन्धनको एक दल नेकपा एमालेले यो नियुक्ती लगत्तै विज्ञप्ति निकालेर सरकारलाई राजनीतिक नियुक्ती नगर्न दवाव दिँदै पछि आफ्नो सरकार बनेपछि यी निर्णय खारेज गर्ने चेतावनी पनि दिएको छ ।

 

Share It

Post Comments
थप विशेष