विशेष चन्द्र भण्डारीले चुनाव किन हारे ?
Ujyaalo

जनार्दन घिमिरे / उज्यालो

गुल्मी, मंसिर २६ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधिसभा चुनावमा गुल्मी क्षेत्र नं. १ बाट हार व्यहोर्नु परेको छ । उहाँलाई नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले हराउनुभएको हो । संविधानसभा चुनावमा ज्ञवालीलाई पराजित गरेका भण्डारीले यसपाली नतिजा आफ्नो पक्षमा पार्न सक्नु भएन ।

विकास निर्माणका कामलाई आफ्ना मुख्य एजेण्डा बनाउने र कार्यकर्ताहरुबिच निकै घुलमिल रहेका कारणले गर्दा भण्डारीले यसपाली पनि चुनाव जित्छन् भनेर धेरैले आँकलन गरेका थिए तर जब बाम गठबन्धन भयो त्यसपछि भण्डारी चुनाव हार्ने आँकलन पनि नभएका होइनन् ।

प्रतिनिधिसभामा भण्डारीले गुल्मी एकबाट ७५ सय ५८ मत अन्तरले चुनाव हार्नु भएको छ । उहाँका प्रतिद्वन्दी प्रदिप ज्ञवालीले ३७ हजार ८ सय १४ मत प्राप्त गर्नु भएको थियो भण्डारी आफूले चाहिँ ३० हजार दुई सय ५६ मत मात्रै प्राप्त गर्नु भएको थियो ।

विगतमा तीन निर्वाचन क्षेत्र भएको गुल्मी जिल्लामा यसपटक दुईवटा मात्रै क्षेत्र रहेका थिए । साविकको क्षेत्र नम्बर दुईलाई दुईवटा निर्वाचन क्षेत्रमा आधा आधा गरेर बाँडिएको थियो । साविकको क्षेत्र नम्बर एक र दुई दुवै क्षेत्रमा अघिल्लो पटक कांग्रेसले चुनाव जितेको थियो । भण्डारी साविकको एक र दईको आधा भाग मिलेर बनेको क्षेत्र नम्बर एकबाट चुनाव लडनु भएको थियो ।

स्थानीय चुनावसम्म आउँदा निकै कमजोर बनेको कांग्रेसको संगठन भण्डारीका लागि चुनाव हार्ने कारण बन्न पुग्यो । साविकको क्षेत्र नम्बर एकमा कांग्रेस नेता कृष्ण छन्तेलले झिनो मतले चुनाव जितेका थिए । चुनाव जितेपछि छन्तेल कहिल्यै गाउँ फर्किएर गएनन् भन्ने आरोप पनि स्थानीय वृतमा त्यत्तिकै थियो । उहाँप्रति मतदाता मात्रै होइन कांग्रेस कार्यकर्तामा पनि चरम असन्तुष्टि थियो । एक नम्बर क्षेत्रका मतदाता रुष्ट भइरहेका बेलामा भण्डारीको भागमा त्यही क्षेत्र नम्बर एकको सबै ठाउँ प¥यो ।

स्थानीय चुनावमा आइपुग्दा कांग्रेसका धेरै गढ क्षेत्रहरु ढलेका कारणले पनि उनको हारलाई सहयोग पुग्यो । सालझण्डीबाट तम्घाससम्म बैकल्पिक बाटोको ट्रयाक खोल्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका भण्डारीले चुनाव हार्न पुगे ।

विकास निर्माणका काममा महत्वपूर्ण योगदा पु¥याएको भए पनि भण्डारीको योगदानको खासै कदर नभएको अनुमान गर्न सकिन्छ । ‘विकासका काम गर्दैमा चुनाव जित्न सकिने रहेनछ’ भण्डारीले तम्घासमा आयोजना गरिको पत्रकार सम्मेलनमा भने, ‘मेरो पहल कदमीमा भएको विकासले औषधीको काम गर्न सकेन ।’

फास्ट ट्रयाक, रिडको तीनमुखे पुल, बाटाघाटा र पुल पुलेसाका लागि भण्डारीले महत्वपूर्ण योगदान गरेका थिए । तर साविकको क्षेत्र नम्बर एकमा उहाँ नयाँ अनुहार भएका काणले पनि समस्या भयो । यद्यपी ज्ञवाली र भण्डारी दुवैजना हाइप्रोफाइल नेता भएका कारणले यिनीहरुका बिचमा जहिले पनि कडा प्रतिस्पर्धा हुने गरेको छ ।

स्थानीय तहमा क्षेत्र नम्बर एकमा एमालेका वडा अध्यक्षहरुले ३१ हजार ७ सय २० मत पाएका थिए । कांग्रेसका वडा अध्यक्षहरुले २६ हजार २० मत पाएका थिए । माओवादीका वडा अध्यक्षहरुले कुल ६९ सय ८८ मत पाएका थिए । स्थानीय चुनावकै मतमा पछि परेको कांग्रेसका लागि वाम गठबन्धन तगारो बनेर आयो । वाम गठबन्धन नभएको भए माओवादीको भोटमा खेल्न सक्ने अवस्था रहन्थ्यो ।

भण्डारी वडा अध्यक्षहरुको मतका आधारमा झण्डै साढे १२ हजार मतले पछि थिए । तर उहाँले जम्मा साढे ७ हजार मतले चुनाव हारेका छन् । यसरी विश्लेषण गर्ने हो भने भण्डारीले मतमा उल्लेख्य सुधार गरेको देखिन्छ । तर यस पटक भण्डारीले नतिजा आफ्नो पक्षमा ल्याउन सक्नु भएन ।

भण्डारीले वाम गठबन्धनका कार्यकर्ताहरुले इमान्दारिताका साथ भोट हालेकाले पनि आफूलाई समस्या भएको स्वीकार गर्नु भएको छ । ‘कम्युनिष्ट पार्टीको एकीकरण र स्थायित्वको नाराले गर्दा वाम कार्यकर्ताहरुले इमान्दारिताका साथ भोट हाले’ उहाँले भन्नु भयोे, ‘मैले केही भोट आफूतिर आकर्षित गर्न सकिन्छ कि भन्ने ठानेको थिएँ ।’

लोकतन्त्रमा एमालेका गढ क्षेत्र मानिएका कतिपय ठाउँमा आफूलाई चुनाव प्रचार प्रसार गर्न जान नदिइएको कारणले समेत उहाँले संचारकर्मीहरुसँको भेटघाटमा बताउनुभएको थियो । केही ठाउँहरुमा आफूलाई चुनाव प्रचारको क्रममा एमाले कार्यकर्ताहरुले अवरोध गरको उहाँले बताउनुभयो । उदाहरणको रुपमा वलेटक्सारमा आफूलाई मत माग्न समेत एमाले कार्यकर्ताले अवरोध गरेको उहाँले बताउनुभयो ।

साविकको क्षेत्र नम्बर एकबाट २०६४ सालमा माओवादी नेता सुदर्शन बरालले चुनाव जित्नु भएको थियो । उहाँलाई वाम गठबन्धनले अहिले प्रदेशसभाको उम्मेदवार बनाएको थियो । साविकको क्षेत्र नम्बर एक माओवादी प्रभावित क्षेत्र मानिन्छ । माओवादीहरुले प्रदेशमा आफ्नो उम्मेदवार भएका कारणले पनि केन्द्रमा एमालेलाई इमान्दारीताका साथ भोट हाल्ने विश्लेषण गर्न सकिन्छ ।

साविकको क्षेत्र नम्बर दुईको केही भागबाट कांग्रेसलाई राम्रो मत आएको भए पनि नतिजा कांग्रेसको पक्षमा आएन । भण्डारीले आफूले चुनाव हार्दै गर्दा सुरु गरेका विकास निर्माणका कामलाई निरन्तरता दिइनुपर्ने बताउनुभएको छ । उहाँले विकास निर्माणका कामलाई निरन्तरता दिन र जितेको उत्साहमा उदण्डता नमच्याउन एमाले कार्यकर्ताहरुलाई आग्रह समेत गर्नु भएको छ ।

भण्डारीले वाम गठबन्धनले गर्दा आफूलाई समस्या भएको तर तीन पार्टी भिन्दा भिन्दै चुनाव लडेको भए आफैले चुनाव जित्ने निश्चित भएको बताउनुभयो ।

Share It

Post Comments
थप विशेष