विशेष गच्छदार र चाैधरीको ढुकढुकी बढ्यो
Ujyaalo

सुनसरी, मंसिर २६– प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सार्वजनिक भैसकेको छ । धेरैतिर विजयी र्याली निस्किसकेको छ । प्रतिनिधिसभातर्फका १६५ क्षेत्रमध्ये १६० क्षेत्रको नतिजा आइसकेको छ । अब सर्लाही ४, सुनसरी ३, कैलाली २, स्याङ्जाका १ र २ क्षेत्र बाँकी रहेका छन् ।

मतगणना सार्वजनिक भैसकेका क्षेत्रका हार्ने उम्मेदवार पनि ढुक्क छन्, जित्ने त ढुक्क हुने नै भए । मतगणना भैरहेका क्षेत्रका उम्मेदवारका ढुकढुकी बढ्न थालेको छ । सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार अमरेशकुमार सिंह र राकेशकुमार मिश्रबीच रोचक प्रतिस्पर्धा भैरहेको छ । त्यस्तै सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमाले उम्मेदवार भगवती चौधरीबीचमा केबल १६५ मतान्तर रहेको छ । सोमबार विवाद भएपछि रोकिएको मतगणना आज बिहानदेखि सुरु भएको छ । भगवती चौधरीले ३०९१९ मत प्राप्त गर्नुभएको छ । विजय गच्छदारले ३०७५४ मत प्राप्त गर्नुभएको छ ।

बर्दिया १ मा सुरुमा अगाडि भएका एमाले उपाध्यक्ष बामदेव गौतमसँग मतमन्तर घटाउँदै गएर कांग्रेस उम्मेदवार सञ्जय गौतमले नतिजा नै आफ्नो पोल्टामा पार्नुभयो । एमाले उपाध्यक्ष गौतम ७५३ मतले हार्नुभयो । त्यस्तै कञ्चनपुर ३ मा कांग्रेस नेता रमेश लेखक र उहाँका प्रतिस्पर्धी एमाले नेता दीपकप्रकाश भट्टबीचमा पनि मतान्तर खासै थिएन । लेखकले भट्टसँगको मतान्तर निरन्तर घटाउँदै लगेपनि १५८ मतको हार बेहोर्नु पर्यो ।

फोरम लोकतान्त्रिक पार्टी नै समायोजन गरेर कांग्रेस प्रवेश गर्नुभएका गच्छदारले नजितेमा कांग्रेसमा हार्ने शीर्ष नेताहरुको सूची बढ्नेछ । २० हजार मत गन्नै बाँकी भएकाले नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न निकै कठिन हुन्छ । झिनो मतान्तर भएकाले दुबै जनाको ढुकढुकी बढ्दै गैरहेको छ ।

 

Share It

Post Comments
थप विशेष