विशेष धनुषाबाट तीन बहालवाला मन्त्रीको हार
Ujyaalo

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुर, मंसिर २६ गते – भर्खरै सम्पन्न प्रतिनिधिभा र प्रदेशसभा चुनावमा वर्तमान सरकारका तीन मन्त्री धनुषामा पराजित भएका छन् । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट वर्तमान सरकारका कृषिमन्त्री रामकृष्ण यादव, निर्वाचन क्षेत्र नं. ४ बाट सरसफाई तथा खानेपानी मन्त्री महेन्द्र यादव र क्षेत्र नम्बर ३ बाट बिना विभागीय राज्य मन्त्री रामसिंह यादव पराजित भएका हुन् ।

नेपाली कांग्रेसबाट धनुषा क्षेत्र नं. २ मा चुनावी मैदानमा उत्रिनु भएका कृषिमन्त्री रामकृष्ण यादव प्रतिस्पर्धामा समेत आउन सक्नु भएन । त्यस क्षेत्रबाट राजपा फोरम गठबन्धनका संयुक्त उम्मेदवार संघीय समाजवादी फोरम नेपालका उमाशंकर अरगडिया ३२ हजार ४४ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र झा १८ हजार ७ सय १५ र तेश्रो स्थानमा मन्त्री यादवले १५ हजार ४ सय ४५ मत मात्र प्राप्त गर्नुभयो । मन्त्री यादवको मत भन्दा दोब्बर बढी मतले फोरमका अरगडिया निर्वाचित हुनुभयो । यसअघि मन्त्री यादव धनुषा क्षेत्र नं. २ बाट २०६४ को संविधानसभा चुनाव र २०७० को संविधानसभा चुनावमा विजयी हुनु भएको थियो ।

त्यस्तै धनुषा क्षेत्र नं. ४ मा कांग्रेसबाट चुनावी मैदानमा भिड्नु भएका सरसफाई तथा खानेपानी मन्त्री महेन्द्र यादव १९ हजार ९ सय ९१ मत प्राप्त गर्दै प्रतिस्पर्धामा आउन सफल हुनु भयो । मन्त्री यादवलाई वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले २ हजार ५ सय ४१ मतले पराजित गर्नुभयो । महासेठले २२ हजार ५ सय ३२ मत प्राप्त गर्नुभयो । तेश्रो स्थानमा मधेशी गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेदवार महाजन यादव १९ हजार ६ सय ६२ मत प्राप्त गर्नुभयो ।

धनुषा क्षेत्र नं. ३ मा राजपाका प्रभावशाली नेता राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीसँगै चुनावी मैदानमा वाम गठबन्धन घटक नेकपा माओवादी केन्द्रबाट लड्नु भएका बिना विभागीय राज्य मन्त्री रामसिंह यादव प्रतिष्ठासमेत बचाउन सक्नु भएन ।

महतो र निधीको चुनावी लडाईमा मन्त्री यादव २ हजार ३ सय ४६ मत मात्र ल्याउन सक्नुभयो । त्यस क्षेत्रबाट राजपाका नेता राजेन्द्र महतो ३० हजार ७ सय ५० मत प्राप्त गरि निर्वाचित हुनुभयो । पूर्व गृहमन्त्रीसमेत रहनु भएका कांग्रेस नेता निधीले २७ हजार ८ सय ४७ मत प्राप्त गर्नुभयो ।

 

Share It

Post Comments
थप विशेष