विशेष समानुपातिकतर्फ आफ्नै जिल्लामा भट्टराईको पार्टी तेस्रो
Ujyaalo

किरण लोहनी/उज्यालो ।

गोरखा, मंसिर २६ –हालै सम्पन्न चुनावमा देशभरबाट उत्साहजनक परिणाम ल्याउन नसकेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने गोरखामा पहिलो भएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा सबैभन्दा धेरै मत ल्याए पनि प्रदेशसभातर्फ भने नेकपा माओवादी केन्द्रले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।

समानुपातिकको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै ३५ हजार ४ सय १९ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ३४ हजार ७ सय ३३, तेस्रोमा रहेको नयाँ शक्ति पार्टी नेपालले १८ हजार ४ सय १३ र चौथो स्थानमा रहेको नेकपा एमालेले १७ हजार ८ सय १३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताउनुभयो । सम्पूर्ण देशलाई एउटा क्षेत्र मानेर पार्टीको चिन्हमा भोट हाल्ने समानुपातिक प्रणालीमा ४९ दल प्रतिस्पर्धामा थिए । गोरखाबाट ४८ दलले मत प्राप्त गरे पनि लिबरल डेमोक्रेटिक पार्टीको चुनाव चिन्ह दमाहामा भने एक मत पनि नपरेको सापकोटाको भनाई छ ।

प्रदेशसभा तर्फको समानुपातिक प्रणालीमा भने नेकपा माओवादी केन्द्र पहिलो भएको छ । पार्टीको गोलाकारभित्रको हँसिया हथौडामा ३२ हजार ९ सय ३९ मत खस्दा कांग्रेसको रुख चिन्हमा भने ३२ हजार ५ सय ९५ मत खसेको छ । प्रतिनिधिसभातर्फको समानुपातिकमा तेस्रो भएको नयाँ शक्ति पार्टी प्रदेशसभातर्फ पनि तेस्रो भएको छ । पार्टीको चुनाव चिन्ह आँखामा १८ हजार ८ सय ७ मत खसेको जिल्ला निर्वाचन अधिकारी सापकोटाको भनाई छ । दुवैतर्फ चौथो स्थान बनाएको नेकपा एमालेको सूर्य चिन्हमा १७ हजार १ सय २३ मत खसेको छ । समानुपातिक प्रणाली अन्तर्गत गोरखा समेत रहेको प्रदेश नम्बर ४ मा २० वटा पार्टी प्रतिस्पर्धामा थिए ।

बदर मत धेरै

यसैबिच समानुपातिक प्रणालीतर्फ गोरखामा अत्याधिक मत बदर भएको छ । जिल्लाभर १ लाख २३ हजार ७ सय ७६ मत खसेकोमा प्रतिनिधिसभातर्फ १२ हजार ६ सय ७० मत बदर भएको हो । प्रदेशसभातर्फ त्यो भन्दा धेरै १८ हजार २ सय ८५ मत बदर भएको छ । प्रदेशको समानुपातिकमा झण्डै १५ प्रतिशत र प्रतिनिधिसभातर्फ साढे १० प्रतिशत मत बदर भएको हो । प्रत्यक्षतर्फ भने प्रतिनिधिसभामा ६ हजार ९ शय ५६ मत बदर भएको छ । क्षेत्र नम्बर २ मा ६० हजार १ सय १५ मत खसेकोमा २ हजार ६ सय ३६ मत बदर भएको थियो । क्षेत्र नम्बर १ मा भने ६३ हजार ६ सय ४ मत खसेकोमा ४ हजार ३ सय २० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ मा भन्दा १ मा बढी मत बदर भएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताउनुभयो । क्षेत्र नम्बर २ मा ४ दशमलब ३९ प्रतिशत मत बदर हुँदा क्षेत्र नम्बर १ मा भने ६ दशमलव ७९ प्रतिशत मत बदर भएको उहाँको भनाई छ । प्रदेशसभातर्फ भने निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क मा सबैभन्दा धेरै १ हजार ३ सय ५९ मत बदर भएको छ । सोही क्षेत्रको प्रदेश ख मा १ हजार २ सय ५६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी सापकोटाले बताउनुभयो । यस्तै क्षेत्र नम्बर २ को प्रदेश क मा १ हजार ६७ र प्रदेश ख मा १ हजार ७५ मत बदर भएको छ ।

 

Share It

Post Comments
थप विशेष