विशेष ‘लाल’ नेपालसँग कस्तो व्यवहार गर्छ ‘गेरु’ भारत ?
Ujyaalo

–आनन्द स्वरुप बर्मा

मंसिर २६ –२७५ सिट रहेको प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकतर्फ ११० जना सांसद चुनिनेछन् । प्रत्यक्षतर्फको १६५ मध्ये ११६ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले ८० र नेकपा माओवादी केन्द्रले ३६ सिट स्थानमा जित हात पारेको छ ।

नेकपा एमालेले १०३ र माओवादी केन्द्रले ६० क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको थियो । देशकै सबैभन्दा पूरानो र भारत समर्थक भनेर चिनिने नेपाली कांग्रेसले सबैभन्दा बढी १५३ क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको थियो । तर उसलाई २३ सिटमा मात्रै सफलता प्राप्त भयो ।

नेपाली कांग्रेसको यस्तो खराब स्थिति योभन्दा पहिले कहिल्यै भएको थिएन । राजतन्त्र र हिन्दु राष्ट्रको समर्थन गर्ने पार्टीहरुलाई पनि नागरिकले पूर्ण रुपमा अस्वीकार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई केबल एक सिटमा जित मिलेको छ । हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गर्ने कमल थापाले चुनाव हारेका छन् ।

अब यी दलहरुले समानुपातिक प्रणालीमार्फत आफ्नो खातामा केही सिट प्राप्त गर्नेछन् । सातै वटा प्रदेशको नतिजा पनि प्रतिनिधिसभाको जस्तै नै छ । केबल दुई नम्बर प्रदेशमा वामपन्थीको अवस्था कमजोर देखिन्छ । बाँकी ६ प्रदेशमा वामपन्थी सरकार नै बन्ने देखिन्छ ।

अब यो पनि तय भयो कि केन्द्रमा एमाले नेता केपी ओलीको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार नै बन्न सक्ने संभावना देखिन्छ । त्यो नभए पनि वामपन्थी दलहरुको पूर्ण बहुमतको सरकार बन्ने भने पक्का भएको छ । नेपालको लागि यो एकदमै शुभसंकेत पनि हो किनकि सन् २००८ बाट जब देशमा गणतन्त्रको स्थापना भयो, कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गरेका छैनन् । अब नेपालमा राजनीतिक स्थिरता कायम हुने विश्वास राख्न सकिन्छ ।

नेपालमा वामपन्थीहरुको जित यस्तो अवस्थामा भएको छ, भारतसहित विश्वका देशमा धेरै देशहरुमा दक्षिणपन्थीहरुको सरकार बनिरहेको छ । भारतमा आज पनि तिनीहरु नै सत्तामा छन् जसले नेपाललाई हिन्दु राष्ट्र बनाउने सपना देखिरहेका छन् । जसले आज पनि नेपालका राजालाई ‘हिन्दु हृदय सम्राट’ मान्ने गर्छन् । चुनावको नतिजाले उनीहरुको आशामा धक्का पुगेको छ । साथै भारत सरकारको नेपाल नीतिको खोक्रोपनलाई पनि उजागर गरेको छ ।

यसै वर्षको अक्टोबरमा जब नेपालका दुई कम्युनिष्ट पार्टीले मोचाबन्दी गरे, भारत सरकारको तर्फबाट यसलाई असफल पार्न भरपूर प्रयास भएको थियो । तर माओवादी नेता प्रचण्ड र एमाले नेता ओलीले असम्भवजस्तै देखिएको यो समीकरणलाई सम्भव बनाएर सबैलाई चकित पारे ।

धेरैले यो पनि अनुमान गरेका थिए सिटको बाँडफाँडमा दुई दलको एकता भाँडिनेछ । जसरी बाबुराम भट्टराई मोर्चाबाट निस्केर अलग भए । तर त्यस्तो भएन ।

२०१५ को सेप्टेम्बरमा भारत सरकारका विदेश सचिव जयशंकर नेपाल गएर प्रमुख राजनीतिक दलहरुलाई दबाब दिने काम गरेका थिए । उनले मधेशको समस्यालाई बहाना बनाए पनि कारण अरु नै केही थियो । यसको खुलासा केही दिनपछि भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले एउटा अन्तर्वार्तामा गरेका थिए । उनले आफूले र सुष्मा स्वराजले नेपालको संविधानबाट ‘धर्मनिरपेक्षता’ शब्द हटाउन आग्रह गरेको बताएका थिए । तर प्रचण्डले त्यो आग्रहलाई बेवास्ता गरिदिए ।

सेप्टेम्बर २० मा संविधान जारी भयो, सेप्टेम्बर २१ को रातिदेखि नेपालमा नाकाबन्दी भयो । नेपाली नागरिकले यसलाई संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेका माने । तर भारत सरकारले आफूले नाकाबन्दी नगरेको बतायो । उसले संविधानबाट असन्तुष्ट मधशी नागरिकको नै कदम मान्यो ।

त्यस बेला नेपालमा केपी ओली प्रधानमन्त्री थिए, जो दशकौंदेखि भारतका नजिक मानिन्थे । ओलीको अपिलप्रति मोदी सरकारले ध्यान दिएन । नेपाली नागरिक नाबाबन्दीको मारमा परिरहे ।

अन्ततः ओलीले अर्को छिमेकी देश चीनसँग सहयोगको आग्रह गरे । चीनसँग नजिकको सम्बन्ध बनाएको भन्दै मोदी सरकारले ओलीलाई कालो सूचिमा राख्यो ।

जुलाई २०१६ मा नेपाली कांग्रेस र प्रचण्डको दलले संसदमा अविश्वास प्रस्ताव दर्ता गरेर नौ महिना पूरानो ओली सरकार ढालिदिए । प्रचण्ड प्रधानमन्त्री बने र सेप्टेम्बरमा भारत सरकारको आतिथ्यता स्वीकार गरे ।

अहिलेको चुनावमा ओलीलाई जबर्दस्त समर्थन प्राप्त हुनुका पछाडि यी सबै पृष्ठभूमिले काम गरेको छ । त्यसैले म मान्दछु कि यो चुनावमा नेपालका जनताले आफ्नो सम्प्रभुतालाई पनि ‘एसर्ट’ गरेका छन् ।

ओलीको नेतृत्वमा बन्ने आगामी सरकारले थोरै लचिलोपन देखाए मधेश समस्याका समाधान खोज्ने हो भने यो उनको ठूलो सफलता हुनेछ ।

–आनन्द स्वस्प बर्मा भारतीय पत्रकार तथा सामाजिक अभियन्ता हुन् । उनी नेपाल मामिलाका जानकार मानिन्छन् । नेपालको चुनावको नतिजाबारे बर्माको यो लेख बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो ।

 

Share It

Post Comments
थप विशेष