विशेष मधेसको जनमतले संविधान संशोधनको आवश्यकता जनायो : उपेन्द्र यादव
Ujyaalo

शुभ नारायण यादव/उज्यालो ।

सप्तरी, मंसिर २७ –संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ मा प्रत्यक्षतर्फ फोरम र राजपाको गठबन्धनले बहुमत ल्याएकोले गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ ।

सप्तरी क्षेत्र न. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले सप्तरीको राजविराजमा मंगलबार निकालिएको बृहत विजयी र्‍यालीलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।

उहाँले प्रदेश २ अब मधेस प्रदेश बन्ने बताउँदै आठ जिल्ला ‘मधेशको आधारभूमि’ बन्ने बताउनु भयो । यादवले मधेश शोषण, उत्पीडनको अन्त्य गर्ने भूमि बन्ने दाबी गर्दै प्रदेश न. २ लाई समृद्व र शक्तिशाली बनाउने दाबी समेत गर्नुभयो । ‘यो प्रदेशलाई पनि प्राकृतिक अधिकारमा हिस्सेदारी चाहिएको छ’ यादवले भन्नुभयो ‘त्यो लिनेछौं ।’

अध्यक्ष यादवले मधेसको जनमतले संविधान संशोधनको आवश्यकतालाई छर्लङ्ग पारेको बताउनु हुँदै मधेश समस्या समाधान नभएसम्म राष्ट्रिय समस्या समाधान नहुने दाबीसमेत गर्नुभयो ।

यादवले मधेसको चुनावी परिणामले संविधान अधुरो रहेको र संघीयता, समावेशिता, प्रादेशिक स्वायत्तता र स्वशासनको सवालमा मधेस एकमत रहेको देखाएको बताउनुभयो ।

चुनावले देशमा भेदभाव नचल्ने र बराबरीको हक चाहिने सन्देश दिएको भन्दै अध्यक्ष यादवले मधेसमा त्यस मुद्दा सम्बोधन गर्न आन्दोलन भए पनि राज्यले नसुनेको बताउनुभयो । उहाँले चुनावबाट त्यही जनमत आएकाले यसलाई सम्बोधन नगरेसम्म मुलुकको कुनै पनि समस्या समाधान नहुने बताउनुभयो ।

 

Share It

Post Comments
थप विशेष