विशेष प्रतिपक्षलाई साथ मै लिएर अगाडि बढ्छौँ : एमाले अध्यक्ष ओली
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, मंसिर २७ –नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गएको २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले अभिमतको क्रान्ति गरेको बताउनु भएको छ ।

बुधबार बालकोट स्थित आफ्नै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाई दिन आएका विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालमा आफ्ना हक अधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति, कहिले जनआन्दोलन गरे पनि यसपालीको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेका छन् ।’

वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरे पनि विगतमा कांग्रेसले गरेजस्तो प्रतिपक्षप्रति आफू क्रुर नहुने भनाई राख्दै उहाँले भन्नुभयो, ‘कांग्रेसले बहुमत ल्याएका बेला एमालेसँग कुरा गर्नेहरुलाई पनि झुटा मुद्धा लगाएर फसाइएको थियो तर हामी त्यस्तो गर्दनौँ, प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौं ।’

चुनावका बेला प्रतिस्पर्धी भएकोले कांग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाई थियो । अब देश निर्माणमा लाग्नु पर्ने भएकोले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, ‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुन्छ, तर खेल सकिएपछि बाटोमा हिँडेका बेला मुक्का हानिदैन, त्यसैले अब एमाले अन्य पार्टीसँग सहकार्य गरेर अघि बढ्छ, किनभने अब पाँच वर्षका लागि चुनावी प्रतिस्पर्धा सकियो ।’

ढुक्क भएर लगानी गर्नुहोस्

त्यसैगरी बालकोटमा बधाई दिन आएको च्याम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्नेमा जोड दिनुभयो ।

उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अब हड्ताल र बन्दको युग सकियो, अब उत्पादन, विकास र समृद्धिको युग सुरु भइसक्यो, त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् ।’

Share It

Post Comments
थप विशेष