विशेष समानुपातिकमा एउटै मतपत्र भएका कारण बदर मत बढ्यो
Ujyaalo

दैलेख मंसिर २८ – दैलेखमा मत बदर हुने सङ्ख्या अघिल्ला चुनावहरुको तुलनामा बढेको छ । दैलेखमा २०७० को सविधानसभा चुनावमा ६ दशमलव ६१ प्रतिशत मत बदर भएकोमा यस पटक ६ दशमलव ८६ प्रतिशत मत बदर भयो । दैलेखका दुई चुनावी क्षेत्रमा प्रत्यक्षतर्फ ९२ हजार २ सय ९३ मत खसेको मध्ये ५ हजार ४ सय ४ मत बदर भए ।

 

प्रत्यक्षको तुलनामा समानुपातिकतर्फको मतपत्रमा दिइएका मत झण्डै १२ प्रतिशत बदर भएको छ । दैलेखका दुइवटै निर्वाचन अधिकृतका कार्यालयले उपलब्ध गराएका तथ्यांक अनुसार समानुपातिकतर्फ ९२ हजार ९ सय ९९ मत खसेको र त्यसमध्ये १० हजार ८ सय ७८ मत बदर भएको छ । यो संख्या ११ दशमलव ७० प्रतिशत हुन्छ । जबकी २०७० को संविधानसभाको चुनाव कुल ८३ हजार १ सय ७० मत खसेको मध्ये समानुपातिकतर्फ ५ हजार ४ सय २३ बदर भएको थियो ।

समानुपातिकतर्फ बढी मत बदर हुनुमा एउटै मतपत्रमा दुई ठाउँ छाप लगाउनुपर्ने प्राविधिक जटिलता र त्यस अनुसार मतदाता शिक्षा प्रभाकारी नभएको देखिएको छ । जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर कार्कीले मतदाता शिक्षा धेरैलाई दिइएको तर राजनीतिक दलहरुले आफ्ना मतदातालाई सिकाउन नसकेको औल्याउनुभयो ।

अघिल्ला चुनावमा छुट्टाछुट्टै लडेका मुख्य प्रतिपस्पर्धी राजनीतिक दलहरु यसपटक गठबन्धनमा चुनाव लडेपछि मतदाता अलमल परेको नेपाल तरुण दलका जिल्ला सदस्य विनोद श्रेष्ठको भनाई छ ।

प्रत्यक्षका मतपत्र छुट्टाछुट्टै भएकाले कम मत बदर भएको र समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभाको मत एकै मतपत्रमा छाप लगाउनु परेको कारण बढी मत बदर भएको दैलेख क्षेत्र नं. २ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिनुभयो ।

छुट्टाछुट्टै मतपत्र हुनुपर्ने भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्च अदालतमा दिएको रीटकै क्रममा समानुपातिकतर्फको मतपत्र छापिसकेको कारण प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै बनाएको थियो । समानुपातिकतर्फ पनि छुट्टाछुट्टै मतपत्र भएको भए देशभर नै यति ठूलो संख्यामा मत बदर हुने थिएन् ।

Share It

Post Comments
थप विशेष