विशेष जहाँ मतगणनामा तारजाली नै लगाइएन !
Ujyaalo

अमर सुनार/उज्यालो ।

दैलेख, मंसिर २८ – चुनावको मतगणनाका बेला कतै ग्याभिन जाली भित्रको खोरजस्तो कोठाभित्र त कतै टेबुल, कुर्सी दराजलगायत फर्निचर राखेर दलीय प्रतिनिधिलाई टाढा राखिएका दृष्यहरु देखिए । तर दैलेखमा भने कर्मचारी र दलीय प्रतिनिधिले सँगसँगै बसेर मतगणना गरे ।

विगतको समझदारी अनुसार कुनै उछृङ्खल क्रियाकलाप नहुने विश्वासमा चुनावमा खटिएका सरकारी अधिकारी र राजनीतिक दल आमनेसामने रहेरै मतगणना गराए ।

मतगणनामा तारजाली नलाइएको मात्र होइन, दोस्रो चरणको चुनावमा उम्मेदवारी दिने समयदेखि नै राजनीतिक दल र सरकारी अधिकारीले चुनावलाई शान्त, मर्यादित, स्वस्थ प्रतिस्पर्धा र व्यवस्थित गर्न सुरु गरेका थिए ।

उम्मेदवारी दर्ता गराउने दिन बिहान ११ बजे नेमकिपा, १२ बजे राजमो, १ बजे नेकपा एमाले तथा माओवादी केन्द्रको संयुक्त गठबन्धन, २ बजे नयाँ शक्ति पार्टी, ३ बजे नेपाली कांग्रेस तथा राप्रपाको लोकतान्त्रिक गठबन्धन र ४ बजे नेकपा क्रान्तिकारी माओवादी (वैद्य समूह)ले उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा जाने समय तालिका बनाइएको थियो ।

उम्मेदवारी दर्ता गराउने क्रममा निस्कने जुलुसमा झै–झगडा नहोस् भनेर राजनीतिक दल र चुनावसँग सम्वद्ध निकायलाई यस्तो व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको सुझाव सबै दलले मानेपछि त्यसै अनुसार काम भएको हो । दैलेखमा १० वटा राजनीतिक दलले चुनावी प्रचारका क्रममा पनि नजुध्ने गरी तालिका मिलाएका थिए । त्यसै अनुसार प्रचार कार्यक्रम र आमसभाहरु गरे ।

दलहरुका चुनावी प्रचार अभियान सुरु भएदेखि नैसेनाको समरसुर गुल्मका सेनानी अरुण कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षकद्वय रमेशकान्त पोखरेल र कविन्द्र राई, प्रहरी नायव उपरीक्षक सरोज पौडेल र राष्ट्रिय अनुसन्धानका अधिकृत नरेश बमसमेतका सुरक्षा अधिकारीको सहभागितामा दिनहुँ रणनीतिक योजना बनाइएकाले सोचेजस्तै शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

छिमेकी जिल्ला जाजरकोटमा राजनीतिक दलका प्रचार कार्यक्रमहरुमाथि आक्रमण, कालिकोटमा मतदान टोली मतदान केन्द्रमा पुगेपछि मतदानको अघिल्लो राति आक्रमणको प्रयास जस्ता गतिविधि भए पनि दैलेखमा त्यस्ता कुनै पनि गतिविधि गर्ने आँट कसैले गरेन ।

मतदान केन्द्रलाई व्यवस्थित र अनुशासित राख्ने क्रममा कडा रुपमा उत्रिएको स्थानीय प्रशासनले लक्ष्मी मावि सात्तला मतदान केन्द्रका सहायक मतदान अधिकृत भोजराज पोखरेललाई मदिरा सेवन गरेको भेटिएपछि जिम्मेवारीबाट हटाइएको थियो ।

यसपटकको चुनावको अवधिभरिमा नारायण नगरपालिका–८, सिमाडाका भएको झडपमा एमाले कार्यकर्ता जगत रावल, सुरत रावल र मानबहादुर रावल घाइते भए । त्यसबाहेक झडपका घटना भएनन् ।

सरकारी गाडी लिएर राप्रपाको पक्षमा प्रचार गरेको पाइएपछि शहरी विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीलाई निर्वाचन आयोगले सचेत गराएपछि आचारसहिंता उलंघनका घटना पनि केही भएनन् ।

लोकतान्त्रिक समूहले बेस्तडामा मतदाता प्रभावित गर्न बाँड्न लागेको भन्दै वाम गठबन्धनका कार्यकर्ताले ५० हजार रुपैंयाँ जफत गरेर प्रहरीलाई बुझाएका थिए ।

Share It

Post Comments
थप विशेष