विशेष महिलालाई दिन्छन् त मुख्यमन्त्री पद !
Ujyaalo

नवराज पनेरु/कैलाली

कैलाली, मंसिर २८ – प्रदेश नम्बर ७ मा प्रत्यक्षसँगै सामानुपातिकमा पनि मत गणना अन्तिम चरणमा पुगेको छ । पहिलो प्रदेशसभा बैठकको तयारी चलिरहेका बेला अब मुख्यमन्त्रीको चर्चा परिचर्चा पनि हुन थालेको छ ।

प्रदेश नम्बर ७ मा प्रदेशतर्फ प्रत्यक्षमा वाम गठबन्धनको दुई तिहाई पुगेको छ भने सामानुपातिकमा कांग्रेस अगाडि देखिएको छ । प्रत्यक्षमा प्रदेशका ३२ सिटमध्ये एमालेले १७ र माओवादीले १० गरी २७ सिट जितेको छ ।

चुनावअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले प्रदेश नम्बर ७ को मुख्यमन्त्री एमालेबाट हुने सहमति गरेका थिए । चुनावअघि मुख्यमन्त्रीका लागि नेकपा एमालेको प्रदेश सह–संयोजक कर्ण थापाको मात्रै चर्चा थियो ।

तर पछिल्लो समय मुख्यमन्त्री जनताबाट अनुमोदित प्रदेशसभा सदस्यबाटै बनाउनुपर्ने चर्चाले सामानुपातिकतर्फका उम्मेदवार थापालाई संकटमा पारिदिएको छ । एमाले पार्टीको स्रोत अनुसार चुनाव अघि उनलाई नै मुख्यमन्त्री बनाउने भनेर बाजुराबाट समानुपातिक सूचिमा राखिएको छ ।

तर समानुपातिकको पछिल्लो नतिजा सार्वजनिक गरिएपछि प्रदेशसभामा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले एमालेबाट समानुपातिकमा पुरुष चयन नहुने हुन कि भन्ने नेताहरुलाई चिन्ता भएकोे छ । प्रदेश नम्बर ७ मा प्रदेशका लागि एमालेबाट प्रत्यक्षतर्फ कुनै पनि महिला निर्वाचित भएका छैनन् । जसले गर्दा थापाको मुख्यमन्त्रीका लागि बाटो निकै कठिन देखिन्छ ।

एमालेभित्र थापा समानुपातिकमा नपरेपछि मुख्यमन्त्री को बन्ने भन्ने अडकल पनि गरिन थालिएको छ । कैलाली ४ को प्रदेशसभा ‘क’ बाट निर्वाचित कैलालीका पार्टी सभापति दीर्घ सोडारी, कञ्चनपुरका पार्टी सभापति तारा लामा तामाङ र महिलाबाट कञ्चनपुरबाट समानुपातिक सूचिमा रहेकी नीरु पालको नामले पनि चर्चा पाउन थालेको छ ।

कञ्चनपुरबाट समानुपातिकको १ नम्बरमा रहेकी निरु पाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । यस्तै, माओवादी केन्द्रलाई मुख्यमन्त्री दियो भने को हुनसक्छ भनेर पनि चर्चा परिचर्चा सुरु हुन थालेको छ । माओवादी केन्द्रबाट पनि वीरमान चौधरी र हरि चौधरीको नाम चर्चामा रहेको छ । प्रदेश राजधानी दिपायलमा बन्ने र थारु मुख्यमन्त्री बन्ने पनि यहाँ चर्चा रहेको छ ।

डोटीबाट प्रदेशसभाबाट निर्वाचित त्रिलोचन भट्ट र अछामबाट निर्वाचित झपट बोहराको पनि चर्चा हुन थालेको छ ।
कांग्रेसमा मुख्यमन्त्री बन्ने सम्भावना नै छैन ।

कांग्रेसले प्रदेश नम्बर ७ का ३२ सिटमध्ये ४ स्थानमा मात्र जितेको छ । कैलालीको क्षेत्र नम्बर १ बाट चुनाव जितेका रणबहादुर रावल मुख्यमन्त्रीका दाबेदार भए पनि उनको पार्टीले ४ सिट मात्रै जितेकाले उहाँको मुख्यमन्त्री बन्ने सम्भावना नै सकिएको छ ।

Share It

Post Comments
थप विशेष