विशेष प्रदेश नम्बर ७ बाट कांग्रेसका एक्ला सांसद : प्रधानमन्त्री देउवा
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, मंसिर २८ –प्रदेश नम्बर सातमा नेपाली कांग्रेसले प्रतिनिधिसभामा एक सीट मात्रै जितेको छ । तुलनात्मक रुपमा प्रदेश नम्बर ७ नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्थ्यो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले प्रतिनिधित्व गर्ने प्रदेश भएकाले पनि ७ नम्बर प्रदेशमा कांग्रेसको उपस्थित राम्रै हुन्छ भन्ने आशा थियो । तर चुनावी नतिजाले त्यसो भनेन । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट कांग्रेसका एक जना मात्र प्रतिनिधि निर्वाचित भए । निर्वाचित हुने पनि प्रधानमन्त्री शेरबहादुर देउवा ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बाहेक अरु कुनै पनि उम्मेदवारले विजय हासिल गर्न सकेनन् । प्रदेश नम्बर सातमा प्रतिनिधिसभाका लागि १६ सिट रहेकोमा कांग्रेसले एक सिट मात्रै जितेको हो । ७ नम्बर प्रदेशमा एमालेले ११ सिटमा जित हात पार्दा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३ सिटमा जित हात पारेको छ । राष्ट्रिय जनता पार्टीले पनि ७ नम्बर प्रदेशमा एक सिट जितेको छ ।

कुनै बेला कांग्रेसको आधार क्षेत्रको रुपमा चिनिने प्रदेश नम्बर सातमा पछिल्लो समय निकै कमजोर देखिएको छ । यस प्रदेशबाट पार्टी सभापति तथा प्रधानमन्त्री देउवासहित कांग्रेसका शीर्ष नेताले प्रतिनिधित्व गरे पनि यस क्षेत्रको विकासमा ध्यान नदिएको आरोप कांग्रेस नेतृत्वलाई लाग्ने गरेको छ । २०४८ सालदेखि शेरबहादुर देउवा डडेलधुराबाट जित्दै आउनुभएको छ । २०४८ सालको आमचुनावमा पहिलो पटक डडेलधुराबाट विजयी भएका देउवा २०५१ को म्धयावधि निवार्चन र २०५६ को संसदीय निर्वाचनमा पनि विजयी हुनुभयो । उहाँ ६४ र ७० को संविधानसभाको चुनावमा पनि विजयी हुनुभयो । दुई ठूला दलबीचको गठबन्धनले कांग्रेसले पराजय भोगेको विश्लेषण गरिएको भए पनि यो मात्रै एउटा कारण नभएको धेरैले बताएका छन् । यो पटकसहित उहाँको यो छैटौं जित हो । पार्टी सभापति देउवाले पटकपटक डडेलधुराबाटै जिते पनि जिल्लाको लागि केही नगरेको आरोप लाग्दै आएको छ ।

स्थानीय तहको चु्नावमा देउवाकै गृहजिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा एमालेले जित हात पारेको थियो । एमालेका बिपिन ओझा अमरगढी नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । ४९ र ५४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मेयर र उपमेयरसहित सबै वडा जितेको थियो । स्थानीय तहको नतिजालाई लिएर एमालेले कांग्रेसको किल्ला भत्काएको प्रतिक्रिया दिएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा पनि कांग्रेसले डडेलधुरामा एक–एक सिटमा जित हात पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ मा कांग्रेसले जित हात पारे पनि प्रदेशसभा ‘क’ मा भने नेकपा एमालेले जित हात पारेको छ । डडेलधुराबाहेक ७ नम्बर प्रदेशका अन्य जिल्लामा कांग्रेस निकै कमजोर देखिएको छ ।

प्रदेशसभातर्फ ७ नम्बर प्रदेशमा नेपाली कांग्रेसले डडेलधुरा ‘ख’, डोटी १‘क’, कैलाली १‘ख’ तथा कैलाली ५‘ख’ मा गरी जम्मा ४ सिटमा जित हात पारेको छ । कांग्रेसभित्रको अन्तरघातले पनि कांग्रेसले पराजय बहोरेको धेरैले बताएका छन् । कांग्रेसको आफ्नै संगठन कमजोर हुनु, अन्तरघात हुनु र दुई ठूला पार्टीको गठबन्धनले कांग्रेस पराजित भएको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो ।

२०४८ सालमा पूरै सुदूरपश्चिम कब्जा गरेको कांग्रेस पछिल्लो समयमा कमजोर बन्दै गएको छ । पार्टीका पछिल्ला निर्णयलगायतका धेरै कारणले कांग्रेस पराजित हुन पुगेको अवस्थीले बताउनुभयो । पार्टी संगठनलाई चुस्तदुरुस्त पार्न सके कांग्रेसले पाएको मतलाई अझै बढाउन सकिने उहाँले बताउनुभयो । वाम गठबन्धनका बाबजुद पनि कतिपय ठाउँमा जित्न सक्ने कांग्रेस आन्तरिक कलहकै कारण पराजित हुन पुगेको विश्लेषकहरुले बताएका छन् । त्यस्तै पछिल्लो समय डडेलधुरालगायत प्रदेश नम्बर ७ मा वैचारिक हिसावले नेपाली कांग्रेस निकै नै कमजोर देखिएको विश्लेषकहरु बताउँछन् ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट मात्र जितेको नेपाली कांग्रेस समानुपातिकमा भने ७ नम्बर प्रदेशमा अगाडि रहेको छ । ७ नम्बर प्रदेशको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले प्रदेशसभामा २५०,१२४, नेकपा एमालेले २२५,१४९ तथा नेकपा माओवादी केन्द्रले ११४,३१६ मत प्राप्त गरेको छ । समानुपातिकबाट केही सिट प्राप्त गरे पनि नेपाली कांग्रेस प्रदेश नम्बर ७ मा सरकार बनाउने अवस्थामा भने आउने छैन ।

प्रत्यक्षतर्फबाट ३२ र समनुपातिकबाट २१ गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा हुने यस प्रदेशमा वामपन्थी सरकार बन्ने पक्का भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र १७ र १० सिट जितेकाले सरकार बनाउन आवश्यक सिट संख्या उनीहरुसँग रहेको छ । समानुपातिकतर्फ पनि कांग्रेसकै हाराहारीमा एमाले रहेको र माओवादीले पनि राम्रै मत प्राप्त गर्दा झण्डै दुई तिहाई बहुमतसहितको वामपन्थी सरकार ७ नम्बर प्रदेशमा पनि बन्ने सम्भावना रहेको छ ।

२०७० सालको चुनावमा १९६ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेस अहिले निकै कमजोर देखिएको छ । पार्टीको पराजयका बारेमा नेपाली कांग्रेसले केही समीक्षा त पक्कै गर्ला । तर आफ्नै गढ मानिएको र पटकपटक प्रधानमन्त्री बन्नुभएका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला र प्रदेशमा कांग्रेस कमजोर हुनुले भने विशेष अर्थ राख्नेछ ।

 

Share It

Post Comments
थप विशेष