विशेष कैलालीमा दुई पूर्वमन्त्रीको प्रतिस्पर्धा रोचक
Ujyaalo

नवराज पनेरु/उज्यालो ।

कैलाली, मंसिर ५ – कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको चुनाव रोचक हुने देखिएको छ ।

यो क्षेत्रबाट लोकतान्त्रिक र वाम दुबै गठबन्धनबाट दुई जना पूर्व मन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट भर्खरै नेपाली कांग्रेसमा विलय भएको नेपाल लोकतान्त्रिक फोरमका नेता पूर्व स्वास्थ्य तथा जनसङख्या मन्त्री रामजनम चौधरी उम्मेदवार बन्नुभएको छ । वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कृषि मन्त्री गौरीशंकर थारु चुनावी मैदानमा हुनुहुन्छ । चौधरी २०७० सालको चुनावमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ र थारु कैलाली निर्वाचन क्षेत्र नम्वर ४ बाट विजयी भएका हुनरुभएको थियो ।

अहिले दुबै क्षेत्रका केही भाग मिलेर बनेको निर्वाचन क्षेत्र नम्बर ३ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धामा हुनुहुन्छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तुलनात्मक रुपमा माओवादी बलियो छ । घोडाघोडी नगरपालिका, भजनी नगरपालिकाका ७ र कैलारी गाउँपालिकाका ७ गरी २६ वडा भएको यो निर्वाचन क्षेत्रबाट स्थानीय तह निर्वाचनमा माओवादीले १४ हजार १ सय मत ल्याएको थियो । कांग्रेसले १२ हजार ९ सय मत ल्याएर दोस्रो भएको थियो भने तेस्रो भएको एमालेले १० हजार ९ सय मत ल्याएको थियो ।

यो क्षेत्रमा फोरम र राप्रपाको पनि राम्रै उपस्थिति भएकाले लोकतान्त्रिक गठबन्धन आफूलाई बलियो बताउँदै आएको छ । पहिलेको फोरम र राप्रपाको झण्डै ८ हजारभन्दा बढी मत स्थानीय तहको चुनावमा आएको थियो ।

स्थानीय तहको नतिजा अनुसार, एमाले र माओवादी मत जोड्दा यो निर्वाचन क्षेत्रमा २५ हजार मत पुग्छ भने कांग्रेस, फोरम र राप्रपाको मत जोड्दा २१ हजार हजार मत पुग्छ । स्थानीय तहको चुनावलाई मध्यनजर गर्ने हो भने कांग्रेसभन्दा चार हजार मत धेरै भएको वाम गठबन्धन यो क्षेत्रमा बलियो देखिन्छ । तर स्थानीय तहको चुनावपछि यस क्षेत्रमा झण्डै १० हजार मतदाता थपिएका छन् ।

रामजनम चौधरी यस क्षेत्रमा प्रभावशाली नेताका रुपमा परिचित भएकाले नतिजा लोकतान्त्रिक गठबन्धनको पक्षमा जाने अनुमान धेरैले गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा झण्डै ९२ हजार मतदाता रहेका छन् । तर टिकापुर घटनापछि रामजनम चौधरीले पक्राउ परेका थारुहरुलाई रिहाई गर्न पहल नगरेको भन्दै थारु बस्तीमा विरोध पनि हुने गरेको छ ।

 

 

Share It

Post Comments
थप विशेष