विशेष ‘नेताहरु देखेर रिस मात्र उठ्छ, किन दिने भोट ?’
Ujyaalo

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी,मंसिर ५ –देशमा जबजब चुनावको मिति नजिक आउँछ, यसको रौनक अन्यत्रभन्दा सुकुम्बासी बस्तीमा बढी नै देखिन्छ । सुकुम्बासी बस्तीका मतदाता अरु मतदातनको तुलनामा चलायमान हुन्छन् । सुकुम्बासी बस्तीका मतदातालाई आफ्नो पक्षमा तान्न सबै दलका उम्मेदवारले लालपुर्जाको आश देखाउँछन् ।

नवलपरासीको मध्यविन्दु नगरपालिका –१, र कावासोती नगरपालिका १७ अन्र्तगत पर्ने सेतापानीमा करीब ६ सय घर परिवार सुकुम्बासीको बसोबास रहेको छ । विक्रम संवत २०६१ सालबाट बसोबास गर्दै आएका यस क्षेत्रका बासिन्दाको जमिनको लालपुर्जा भने छैन । लाल पुर्जा छैन भन्ने कुरा बुझेका दलका उम्मेदवारले यो बस्तीमा बाँड्ने पहिलो आश्वासन भनेको लालपुर्जा वितरण गर्छु भन्ने नै हो ।

दलका उम्मेदवारले पटक–पटक चुनावको समयमा लालपुर्जा वितरणको लागि पहल गर्छौ भन्ने आश्वासन दिने गरको मध्यविन्दु नगरपालिका–१, सेतापानीका असोक महत्तोले बताउनु भयो । तर नेताले बोलेका कुरा आजसम्म पूरा नगरेको उहाँले गुनासो गर्नु भयो । ‘चुनाव हुँदा भाषणमा लालपुर्जा दिलाउँछु, भोट दिनुस् भन्छन्, जिते पछि फर्केर पनि हेर्दैनन’, उहाँले भन्नु भयो ।

कावासोती –१७, का सुरेश महत्तोको गुनासो पनि उस्तै रहेको छ । ‘लालपुर्जा भएको भए बैंकमा राखेर ऋण निकालेर कुनै साना तिनो व्यवसाय गर्न सक्न्थियो, लालपुर्जा छैन के गर्ने ?’ उहाँले दुखेसो पोख्नुभयो, ‘नेताहरुले गर्छु त भन्छन् तर कहिले हो कहिले अब त विश्वास पनि लाग्न छाडिसक्यो ।’ चुनावमा सुकुम्बासी बस्ती मात्र प्रयोग हुने उहाँको भनाई छ ।

कावासोती –१५, शेरगञ्जमा रहेको माझी, मुसहर समुदायलाई भने चुनावप्रति कुनै चासो छैन । नारायणी नदीमा माछा मारेर अनि दैनिक ज्याला मजदुरी गरेर यहाँका नागरिकले जीवन निर्वाह गर्दै आइरहेका छन । यस अघिका चुनावमा भोट खसालेर विजयी बनेकाहरुले आपूुहरुको समस्या समाधानका लागि कुनै पहल नगरेको गुनासो यहाँका माझी समुदायको छ ।

लालपुर्जा नभएका नागरिकहरुलाई राजनीतिक दलले भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने र चुनावपछि कुनै पनि दलले आफूहरुलाई वास्ता नगर्ने सुकुम्बासी बस्तीका नागरिक बताउँछन् ।

मध्यवर्ती क्षेत्रमा पर्ने शेरगञ्जमा झण्डै एक सय घरपरिवार बस्दै आएका छन् । यस बस्तीमा हिजोआज दैनिक जसो कुनै न कुनै दल घरदैलो अभियान लिएर पुग्ने गरेका छन । गाउँको विकास र जीवनस्तर उकास्न धेरै काम गर्छौ भन्ने पनि गरेका छन् तर दलहरुका कुराप्रति यहाँका बासिन्दालाई कुनै विश्वास नै छैन ।

५२ वर्षकी कलिया मुसहर नेताहरु देखेर रिस उठ्ने गरेको बताउनुहुन्छ । यसअघिका चुनावमा पनि लालपुर्जा दिन्छौ , भनेर भोट मागेका दलहरुले अहिलेसम्म लालपुर्जा नदिएको उहाँको गुनासो छ । ‘कहिले को आउँछन, कहिले को आउँछन भोट माग्न, भन्छन् तपाईँहरुलाई लालपुर्जा दिलाउँछौ , बाटो बनाईदिन्छौ नारायणी नदीमा तटबन्ध बनाइदिन्छौँ । यसअघि पनि त्यही भनेर भोट मागे, गर्लान नि भनेर भोट दिएँ अब त म भोटै दिन्न । हामीलाई पहिला लालपुर्जा हातमा दिए मात्रै भोट दिन्छौ नत्र दिन्नाैँ’, उहाँले भन्नुभयो ।

६० वर्षकी जितकुमारी मुसहरले पनि यसअघिका सबै च्नावमा भोट हालेको बताउनुहुन्छ । तर यसपटक उहाँले पनि भोट नदिने सोच बनाएको बताउनुभयो । ‘किन दिने भोट ? भोट दिएर जिताएर उनीहरु ठूलो मान्छे भएर पैसा कमाए गाडी चढे तर हामी त जहाँको त्यहीँ, लालपुर्जा दिन्छु भने, खानेपानी दिन्छु भने, छोराछोरीलाई निःशुल्क पढाइदिन्छु भने तर केही पनि गरेनन्, माछा मार्न पनि दिन्नन, भोट दिएर के हुन्छ र त्यसैले अहिले त म भोट नै दिन्न’, उहाँले गुनासो गर्नुभयो ।

 

 

Share It

Post Comments
थप विशेष