विशेष रोल्पाको ‘लालकिल्ला’ भत्काउने प्रयासमा कांग्रेस
Ujyaalo

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, मंसिर ५ — दश वर्षे सशस्त्र जनयुद्ध पछिका विभिन्न चुनावमा माओवादीले आफ्नो पार्टी विजयी भएको भन्दै रोल्पालाई लालकिल्लाको रुपमा चिनाउँदै आएको छ ।

०६४ र ०७० सालको संविधानसभाको दुबै चुनावमा रोल्पामा विजयी भएको माओवादी गएको असारमा सम्पन्न स्थानीय निकायको चुनावमा भने सबै स्थानीय तहमा विजयी हुन नसकेका कारण लालकिल्ला भत्किएको अन्य पार्टीले बताउन थालेका छन् । अहिले पनि लालकिल्ला भत्काउन भन्दै नेपाली कांग्रेसले आफ्ना केन्द्रीय नेताहरुलाई जिल्ला दौडमा पठाएको छ ।

गएको हप्ता मात्रै नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य पार्वता (डिसी) चौधरीलाई बोलाएर जिल्लाका विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरेको थियो भने अहिले प्रभावशाली युवा नेता धनराज गुरुङलाई जिल्ला दौडमा खटाएको छ । विभिन्न स्थानमा चुनावी सभा कार्यक्रमको आयोजना गरी गुरुङलाई सम्बोधन गर्न लगाएको नेपाली कांग्रेस रोल्पाले मंगलवार सुलीचौरमा अर्काे सभाको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रमलाई पनि युवा नेता गुरुङले नै सम्बोधन गर्ने नेपाली कांग्रेस रोल्पा क्षेत्र नम्बर १ का सभापति सिमबहादुर विष्टले जानकारी दिनुभयो । नेता गुरुङलाई अझै १/२ दिन जिल्लामै खटाउने तयारी भैरहेको पनि विष्टले बताउनुभयो ।

प्रत्यक्षमा एमालेबाट उम्मेदवार नहुँदा पनि आश

यस्तै स्थानीय तहमा दुईवटा तह जितेको नेकपा एमाले र माओवादीको गठबन्धन बनेपछि प्रत्यक्षतर्फ एउटा पनि उम्मेदवार नपाएको एमाले रोल्पाका केही असन्तुष्ट मतदाताले कांग्रेसमा भोट हाल्न सक्ने पनि कांग्रेसले आश गरेको छ । विगत २५ वर्षदेखि अन्य पार्टीलाई मात्र जिताउन सहयोगी भूमिका खेलेको भन्दै एमालेले कम्तीमा प्रदेशसभाका लागि एउटा क्षेत्रमा उम्मेदवार जसरी पनि पाउनुपर्ने माग गरेको थियो । तर माओवादीले आफ्नो पकड रहेको जिल्ला भन्दै सबै उम्मेदवार आफ्नै पार्टीबाट उठाएछि एमाले कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ ।

राप्रपा नेता पूर्वमन्त्री घर्तीको पनि साथ

०३६ सालदेखि ०४६ सालसम्म देशमा रहेको पञ्चायती शासनकालमा पटक–पटक मन्त्री बनेका राप्रपाका पूराना नेता तथा पूर्वमन्त्री बलाराम घर्तीसमेत लोकतान्त्रिक गठबन्धनमार्पmत कांग्रेसलाई भोट माग्न खटेका छन् । यसले पनि कांग्रेसलाई ठूलो राहत मिल्ने देखिएको छ ।

प्रधानमन्त्रीलाई पनि बोलाउने तयारी

नेपाली कांग्रेस रोल्पाले जनता रिझाउनका लागि अनेक उपाय लगाइरहेको बेला नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि रोल्पामा बोलाउने तयारी गरेको छ । बिहीबार जिल्लामा चुनावी सभाको आयोजना गरी प्रधानमन्त्रीलाई सम्बोधन गर्न बोलाइएको नेपाली कांग्रेस रोल्पाका सभापतिसमेत रहनुभएका प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर १ मा जोडबल

स्थानीय तहको चुनावमा जित हासिल गरेको एउटा गाउँपालिका पर्ने प्रदेशसभाको क्षेत्र नं. १ मा आफ्नो पकड बलियो भएको भन्दै कांग्रेस रोल्पाले उक्त क्षेत्रमा बढी जोडबल गरेको पाइन्छ । केन्द्रीय नेताहरुको दौडधुप पनि १ नम्बर क्षेत्रमा नै बढी रहेको बताइएको छ । पूर्वमन्त्री बालाराम घर्तीको घर पनि यसै क्षेत्रमा पर्ने भएकाले उहाँको प्रभावले पनि यस क्षेत्रबाट कांग्रेसलाई भोट आउने अनुमान गरिएको छ ।

माओवादीको ‘टुरिष्ट’ उम्मेदवार

यस्तै माओवादीले क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएका नेता कुलप्रसाद केसी क्षेत्र नम्बर २ का बासिन्दा हुन् । यसले गर्दा पनि मत आफ्नो पक्षमा आउने आशा गरेको कांग्रेस उम्मेदवार शेरबहादुर महराको भनाई छ । अन्य क्षेत्रबाट चुनाव लड्न आएका नेताहरुले विकास निर्माणमा धोका दिने भन्दै आफ्नै क्षेत्रका नेतालाई विजयी बनाउने आश्वासन समेत मतदाताहरुले दिएको कांग्रेस उम्मेदवार महराले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष