विशेष रामवीरलाई ‘तरकारीवाली’ को शुभकामना !
Ujyaalo

काठमाडौं, मंसिर ५ – वाम गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार रामवीर मानन्धरले मंगलबार क्षेत्रपाटीबाट घरदैलो अभियान सुरु गर्नुभएको छ । महानगरपालिकाको १७ नम्बर वडाबाट मानन्धरले दलबलसहित भोट माग्दै मतदातासम्म पुग्नुभएको हो ।

मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए । राजधानीकै सबैभन्दा चर्चामा रहेको असनका तरकारी पसलेहरु कालीमाटीबाट भर्खर ल्याएको ताजा तरकारीका बोराहरु खोल्दै थिए ।

बिहानीमा मात्र खुल्ने फुटपाथ पसलका पोकाहरु पनि भर्खर खुल्दै थिए । त्यसैबेला सूर्य र हसियाँ हतौडा अंकित झण्डा बोकेर सयौँको सङ्ख्यामा जोसिला नारा लगाउँदै बृद्ध–बृद्धा, युवाले करिब दुई घण्टा ती सडक र गल्लीहरु छिचोल्दै भोट माग्नुभयो ।

०७० सालको संविधानसभा चुनावमा संविधान जारी गर्ने वाचासहित यही क्षेत्रका जनताको मतबाट विजयी हुनुभएको थियो ।क्षेत्रपाटीबाट सुरु भएको जुलुस ठमेल हुँदै ज्याठा, असन, इन्द्रचोक, बाङ्गेमुढा, नरदेवी, भुरुङखेल, धोवीचौर हुँदै फेरि क्षेत्रपाटी चोकमै पुग्दा मानन्धरससहितको टोलीलाई बीचबाटोमा सयौंले स्वागत गरे । अग्ला घरका झ्यालहरुबाट हात हल्लाइरहेका बृद्धबृद्धालाई मानन्धर मुसुक्क हाँस्दै हात हल्लाउँदै अघि बढ्नुहुन्थ्यो ।

बाटामा भेटिनेहरु पनि केही सेकेण्ड उहाँसँग भलाकुसारी गर्न भ्याउँथे । धेरैले त उहाँलाई नेवारी भाषा र लवजमै जितको शुभकामना दिन भ्याए । क्षेत्रपाटी चोकमै रहेको तरकारी पसलमा भोट माग्दै पुग्नुभएका मानन्धरलाई ‘तरकारीवाली’ हरुले पनि जितको शुभकामना दिन भ्याए । ‘चुनाव जितेपछि धेरै फर्किएर पनि आउँदैनन्,’ विगत २० वर्षदेखि त्यही चोकमा तरकारी बेच्दै आउनुभएकी ५५ वर्षीया महिलाले भन्नुभयो,’ ‘उहाँ मलाई जनताको छोरा जस्तै लाग्छ । उहाँलाई जितको शुभकामना ।’

तरकारी बेच्ने महिला मात्र होइन क्षेत्र नम्बर–७ कै मतदाता स्टालिन श्रेष्ठले पनि रामवीरलाई जितको शुभकामना दिन भ्याउनुभयो । सर्लाहीबाट आएर यही क्षेत्रमा लामो समयदेखि फलफुल बेच्दै आउनु भएका श्यामबाबु चौधरीले पनि रामवीर मानन्धरलाई जितको शुभकामना दिनुभयो ।

Share It

Post Comments
थप विशेष