विशेष प्रदेश नम्बर ७ का कुन जिल्लामा कस्तो भयो चुनाव ?
Ujyaalo

काठमाडाैं, मंसिर १०- पहिलो चरण अन्तरगत प्रदेश नम्बर सातका चार वटा जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र रहेकोमा आइतबार दार्चुला, बझाङ, बाजुरा र बैतडीमा चुनाव भएको हो । यी जिल्लामा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् ।

बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा २१ गते चुनाव हुनेछ ।

आइतबार चुनाव भएका यी जिल्लामा जम्मा ३ लाख ८४ हजार ९ सय ४१ जना मतदाता रहेका थिए । प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६ सय ७३ जना मतदाता छन् । आइतबार ४ सय २५ मतदान स्थलका ५ सय ७१ वटा मतदान केन्द्रमा चुनाव भएको हो । छिट्फुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।

बाजुरा

आइतबार चुनाव भएका जिल्ला मध्य सबैभन्दा बढी मत बाजुरामा खसेको हो । बाजुरामा ७६ दशमलव २० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सोमबारसम्ममा सदरमुकाम ल्याउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

हिमाली गाउँपालिकाका तिन वटा वडाका चार मतदान केन्द्रका मतपेटिका सोमबार हेलिकप्टरबाट सदरमुकाम ल्याउने तयारी रहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताउनुभएको छ । सडक सञ्जाल जोडिएका मदतान केन्द्रका मतपेटिका भने आइतबार मध्यरातीसम्ममा सदरमुकाम ल्याउने तयारी गरिएको छ । स्थानीय तहको निर्वाचनमा बाजुरामा देशकै सबै भन्दा बढी ८१ प्रतिशत मत खसेको थियो ।

दार्चुला

दार्चुलामा ६९ प्रतिशत मत खसेको छ । ७८ हजार ५ सय १३ मतदाता मध्ये ५४ हजार ४ सय १४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो । स्थानीय तहको चुनावमा दार्चुलामा ७० प्रतिशत मत खसेको थियो ।

मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीको काम शुरु भएको र केही स्थानका मतपेटिका सोमबार मात्रै सदरमुकाम ल्याइने आयोगले जनाएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिका र ब्यास गाउँपालिकाका मतपेटिका हेलिकेप्टरबाट सोमबार मात्रै संकलन गरिने उहाँले बताउनु भयो ।

बैतडी

बैतडीमा ५८ प्रतिशत मत खसेको छ । स्थानीय तहको चुनावमा ७२ प्रतिशत मत खसेको थियो । तर प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा झन्डै १४ प्रतिशत कम अर्थात ५८ प्रतिशत मत खसेको हो ।

बैतडीमा १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेका थिए । मतदान सकिएलगत्तै मतपेटिका ढुवानीको काम शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । मतदान सम्पन्न भएपछि मतपेटिकाको मुचुल्का गरेर ढुवानीको कार्य शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सदरमुकाम नजिक र सडक नजिक भएका मतपेटिका आइतबार नै सदरमुकाम ल्याइने छ । टाढाका मतपेटिका सोमबार ल्याइने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । मतपेटिकालाई मंसिर २१ गतेसम्म सुरक्षा दिएर दशरथचन्द नगरपालिकाको हलमा राखिने छ ।

बझाङ

बझाङमा ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँडा गाउँपालिकाका ५ वटा मतदान केन्द्रमा टेलिफोन सम्पर्क नभएकाले एकिन तथ्याँक आउन नसकेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख धु्रबकुमार भण्डारीले जानकारी दिनुभयो । बझाङमा १ लाख ४ हजार ७ सय ७५ जना मतदाता रहेका छन् । बझाङमा पनि स्थानीय तहको चुनावमा भन्दा कम मत खसेको छ ।

मतपेटिका सदरमुकाम ल्याउने काम सुरु भएको छ । काँडा गाउँपालिकाको मत पेटिका सोमबार हेलिकप्टरबाट ल्याइने छ । बझाङमा चार ठाउँमा बम विष्फोट भएपनि कुनै क्षति भने नभएको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले बताउनुभयो । मतपेटिका जिल्ला पशुसेवा कार्यालयको हलमा राखिने छ ।

(जिल्ला सहकर्मी निमेन्द्र शाही, इन्द्रसरा खड्का, डीवी विष्टको सहयोगमा)

Share It

Post Comments
थप विशेष